श्रीमुक्तिनाथ मन्दिरमा नयाँ रथ, बैशाख ८ गते रथयात्रा

पनौती/पनौती नगरपालिका वडा नम्वर ५ स्थित बाँसघारीमा रहेको श्रीमुक्तिनाथ मन्दिर संरक्षण समितिले मुक्तिनाथ मन्दिरको प्राणप्रतिष्ठा गरेको तेश्रो वर्ष मनाउने क्रममा २०८२ बैशाख ७ गते देखि ९ गतेसम्म तृतीय ब्रम्होत्सवमा नयाँ रथ निर्माण गरी रथयात्राको तयारी गरेको छ ।
‘गत वर्षहरु जस्तै यो वर्ष पनि ब्रम्होत्सव मनाउने क्रममा नयाँ रथ तयारी गरिएको छ । नयाँ रथ निर्माणका लागि ५ लाख रुपैया खर्च भएको छ’– अध्यक्ष कुमार थापाले भने–‘नयाँ रथ निर्माणसँगै आवश्यक तयारी गरिएको छ ।’ तृतीय ब्रम्होत्सवको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कुमार थापा, सचिव भोला थापा, सल्लाहकारहरु श्रीराम थापा, नारायण थापा, वडा अध्यक्ष विनोद खत्री, नेपाल पत्रकार महसंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने लगायतका ब्यक्तिहरुले ब्रम्होत्सव सफलताका शुभकामना ब्यक्त गरेका थिए ।

२०७३ सालमा गोपालबहादुर थापाको संयोजकत्वमा सप्ताह आयोजना गरी शुरु गरिएको मन्दिर निर्माण प्रकृया २०७४ सालमा शिलान्यास गरिएको थियो ।२०७८ असोज २५ गते सोमबारबाट सर्वसाधारणका लागि खुल्ला गरिएको उक्त मन्दिर स्वामी कमलनयानाचार्यद्वारा शिलान्यास गरिएको थियो भने मुक्तिनाथ मन्दिरको शुभारम्भ कमलनयानाचार्यबाटै गरिएको थियो ।श्रीदेवी भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको तृतीय ब्रम्होत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको संरक्षण समितिले जानकारी दिएको छ । २०८२ बैशाख ७ गते पुर्वाङ्ग गरिनेछ ।

पुर्वाङ्गका दिन विष्वक्सेन आराधना, पुण्याहवाचन, ब्राहणवरण, अङ्कुरारोपण, द्वारतोरण पूजा, अग्निप्रतिष्ठा, ध्वजारोहण गरिनेछ । दोश्रो दिन अर्थात बैशाख ८ गते नित्य पूजा आराधना, श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको बाजागाजा सहित नगर भित्र यात्रोत्सव गरिनेछ । यात्रोत्सव मुक्तिनाथ मन्दिरदेखि पनौती त्रिवेणीधामसम्म हुनेछ ।
तेश्रो दिन अर्थात बैशाख ९ गते महापूर्णाहुती श्रीमुक्तिनाथ भगवानको १०८ कलशद्वारा महाभिषेक, कल्याण उत्सव हुने अध्यक्ष कुमार थापाले बताए । ‘मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रूपमा स्थापना गरिएको यो दोस्रो मन्दिर हो । तीन तल्ले यो मन्दिरमा आवश्यक पर्ने विभिन्न संरचना निर्माण गरिएको छ । मुक्तिनाथ धाममा नियमित पूजाको विधि गरिएको छ । विभिन्न क्षेत्रबाट मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनहरुको संख्यामा उल्लेख्य बृद्धी भएको छ ।संस्थापक अध्यक्ष गोपालबहादुर थापाको परिकल्पना अनुसार स्थापना र निर्माण भएको मन्दिरमा अहिले भक्तालुहरुको घुईचो लाग्ने गरेको छ ।