ठुलो आन्द्राको क्यान्सर, परीक्षण, उपचार र रोकथाममा शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालले उपलब्ध गराएको नि:शुल्क सेवा

मेरो नाम पर्शुराम कर्माचार्य हो । २०८१ चैत्र ११ गते बनेपामा रहेको शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालमा ठूलो आन्द्राको क्यान्सर सम्बन्धी परिक्षण (कोलोनोस्कोपी) गराएको थिएँ । जसको रिपोर्ट सामान्य नै आयो । ठूलो आन्द्राको क्यान्सर सम्बन्धी परिक्षण मार्च महिनादेखि उक्त अस्पतालमा निःशुल्क परीक्षण भइरहेको भन्ने कुरा मेरो छोरीले भनेकी थिइन् । म र मेरी श्रीमती जाँच गर्न आएका थियौं । जाँच गर्ने क्रममा सुरुमा दिशाको जाँच गर्ने र त्यसमा पोजेटिभ आए मात्र कोलोनोस्कोपी गर्नुपर्ने डाक्टरले बताउनुभयो ।
मेरो इतिहास लिने क्रममा डाक्टरले घरमा परिवारमा कसैलाई ठूलो आन्द्राको क्यान्सर थियो कि ? भन्ने प्रश्न सोध्नुभएको थिाये । जबकी मेरो बुबालाई ठूलो आन्द्राको क्यान्सर भनेको चार दिन भित्रै नै बित्नुभएको थियो । उहाँको निधन भएको कारणले उच्च जोखिममा थिएँ । मेरो दिशा जाँचमा नेगेटिभ आए पनि कोलोनोस्कोपी गराउनुपर्ने सल्लाह दिनु भयो र त्यहि अनुरुप जाँच पनि गराए । रिपोर्ट पनि राम्रै आयो । साथै मैले घरमा गएर सोचे कि म हाई रिक्समा परे पछि मेरो ५ जना बहिनीहरु छन्, उनीहरु पनि त हाई रिक्समा पर्ने नै भयो भनेर सबैलाई जचाउँन सल्लाह गरें । उनीहरु पनि सबैले जचाँए । हामीलाई शिर मेमोरियल अस्पतालको वरिष्ठ डाक्टर ध्रुव कँडेल लगायतको टिमले हेर्नु भयो । कोलोनोस्कोपी गर्नुभयो । कोलोनोस्कोपी गर्दा हल्का मासु पलाई सकेको भए पनि कुनै असहज महसुस भएको थिएन । ६ जना दाजु बहिनी मध्ये ४ जनाको ठूलो आन्द्राको विभिन्न भागमा मासु पलाइसकेको पत्ता लाग्यो । सोहि बखत कोलोनोस्कोपीको माध्यमबाट नचिरिकन सबै मासु निकालेर जाँच गर्न पठाइयो हामी दुई जना (म र मेरो कान्छी बहिनीको) चाहिँ मासु पलाएको देखिएन । चार जना बहिनीहरुको आन्द्राको मासु मध्ये एक जनाको चाहिँ भविष्यमा क्यान्सरको जोखिम भइसकेको रिपोर्ट बायोप्सीको रिपोर्टले देखायो र अन्यको पनि क्यान्सरमा विकास हुन सक्ने सम्भावना थियो । हामी यस परिक्षणबाट धेरै खुशी भएका छौं किनकी क्यान्सर हुने तथा हुन सक्ने ठूलो आन्द्राको ट्युमर समयमा नै कोलोनोस्कोपीको माध्यमबाट निकालेर फाल्न सफल भयौं ।
उक्त परिक्षण पछि डाक्टरसाबले कसैलाई एक वर्ष, कसैलाई तीन वर्ष र कसैलाई ५ वर्ष पछि फेरि ठूलो आन्द्राको परिक्षण गर्ने सल्लाह दिनु भएको छ । यो अवसर दिनुभएकोमा शिर मेमोरिएल एड्भेन्टिष्ट अस्पताल तथा डा. ध्रुव कँडेल लगायतको टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । अस्पतालले यो सेवा निशुल्क दिएकोमा आभार ब्यक्त गर्दछु ।