पूर्वराजाको राजनीतिक सन्देश- २०८२ मा जनताले चाहेको व्यवस्था आउनेछ

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको दुई सातापछि मुख खोलेका छन्।उनले नयाँ वर्षको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै तीनकुने घटनामा पनि प्रतिक्रिया जनाएका हुन्।

‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो,’ उनले भनेका छन्, ‘त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम् अपनाउनुपर्दछ। तर केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी तोडफोड भयो, यसबाट जसप्रकारको मानवीय एवम् भौतिक क्षति भयो, यो सुन्दा हामीलाई दुःख लाग्यो।’

यस्तै उनले जनतामा जागरूकता पैदा हुनु भने सकारात्मक रहेको बताएका छन्। ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद अरु हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतालाई देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ। यसलाई हामीले सकरात्मक लिएका छौँ,’ उनको भनाइ छ।