“ वर्ष २०८२ बाट अपेक्षा”

गते र बार महिना भन्दै एकासी बित्योनि,
उत्साह थप्दै उमङ्ग भर्दै बयासी आयोनि,
यो नयाँ वर्ष वयासीलाई गरौंन स्वागत,
अपेक्षा राखौं अबका दिन पाऔंला राहत,
अमन चैन सुख र शान्ति हाँसिलो मुहार,
पाऔँ है गर्न प्रशंशा हामी आपस्मा खुलेर,
समृद्धि सुख उधारो हैन नगदै खोजौं है,
यथार्थ वादी भावलेयुक्त अठोट रोजौं है,
चपाउने छुट्टै देखाउने अर्को नहोस् है ती दाँत,
सक्दैनौ भने आदर्शवादी दर्शन न छाँट,
शाशक गण जनता हेर कामको खोजीमा,
चाहार्दै छन् ति प्रमाण पत्र राखेर गोजीमा,
आफन्तलाई च्यापेर काखी महको बटुको,
बाँडेर खाने हटोस् है वानी यी भ्रष्टहरुको,
शाशकहरु बोल्दछौ जे त देखाउ गरेर,
भोक र रोगले नेपालीहरु नजाउन् मरेर,
बेथिति अब हट्नुनै पर्छ त्यो शिरदेखिनै,
कानुन ऐन पालना गर्न नछुटुन् जो कुनै,
मागेरै सँधै गुजारा गर्ने प्रवृत्ति हटाऔं,
आफैमा हुने निर्भर अब उपाय चलाऔं,
नेपाली हुँ म नेपाली भन्दा बढोस् है शान त्यो,
नगरी कर्म गफैले मात्र कसरी पाइन्थ्यो,
समीक्षा गरौँ विगतलाई कम्जोरी चिनौँन,
अगाडि बढ्ने अबको बाटो सुन्दर रोजौँन,
मौलिक हाम्रो संस्कृतिलाई जीवन्त राखौँन,
यो आफ्नो पन जोगाइकन गर्वले बाचौँन,
नेपाली हामी कम्मर कसी समृद्धि ल्याउन,
प्रयास गरौँ निस्वार्थ बनी खोजेको पाउन,
यो नयाँ वर्ष सबैका लागि बनोस प्रेरक,
छ शुभभाव होउन पुरा चाहना प्रत्येक,
हृदयदेखि अर्पण गर्छु म शुभकामना,
नरहे थाती होउन पुरा सबैका चाहना,
होउन् है पुरा नेपाली जन सबैको चाहना।