राजावादीले कथित आन्दोलनको सुरुवात सञ्चारकर्मीको निर्मम हत्या मार्फत गरेका छन्ः बास्कोटा

पुर्व मन्त्री एवं नेकपा एमालेका नेता गोकुल बास्कोटाले आन्दोलनका नाममा सञ्चारकर्मीको हत्या भएको भन्दै खेद प्रकट गरेका छन् । प्रेस चौतारी काभ्रेले बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले गत चैत १५ गते राजावादीले गरेको आन्दोलनमा पत्रकारलाई जिउँदै जलाइएको घटनाप्रती खेद व्यक्त गर्दै भत्र्सना गरेका हुन् । उनले लोकतन्त्रमा मात्रै पत्रकारिता जीवनको स्वतन्त्रता हुने बताए । उनले भने, ‘हामी जहिले पनि उज्यालोको खोजिमा हुन्छौं । पत्रकार उज्यालोका सारथी हुन् ।’
नेपालमा राजतन्त्र इतिहास भइसकेको भन्दै बास्कोटाले राजतन्त्रको भविष्य नरहेको समेत दावी गरे । राजतन्त्रको कोर्ष आजभन्दा १८ वर्ष अघि समाप्त भइसकेको उनको भनाइ छ । अब इतिहासको पाङग्रा पछाडी नर्फने उनले बताए । नेपाल लोकतन्त्रको राजमार्गमा आफ्ना कमजोरीलाई सच्याउँदै सवल पक्षलाई थप व्यवस्थित गर्न लागिरहेको उनको भनाई थियो ।
पुर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री समेत रहेका बास्कोटाले पत्रकारहरुले स्वतन्त्रतापुर्वक स्वतन्त्रताका लागि लडेर गणतन्त्रको पक्षमा आवाज उठाएको बताए । गणतन्त्रको पक्षमा आवाजलाई मुखरित गरेर नेपाल पत्रकार महासंघले वक्तव्य जारी गरेको उनले स्मरण गरेका छन् । तर आज पत्रकारले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रताका लागि लडेर ल्याएको व्यवस्था उल्टाउनका निम्ति केहि तत्वहरु अनावश्यक भ्रमको खेती गर्दै हिँडिरहेको उनको जिकिर छ ।
एमाले नेता बासकोटाले भने, ‘पुर्वराजाले नागरिकका रुपमा विचार राखेका भए त्यसमा आपत्ति छैन । तर त्यो विचार समाजलाई विषाक्त बनाउने, जनताको अधिकार खोस्ने, इतिहासको गतिलाई उल्टो दिशातर्फ लैजाने दुस्प्रयास हो भने त्यसलाई नेपाली जनताले कहिल्यै माफी दिँदैनन् ।’


नेपाली प्रेसले लोकतन्त्रमा मात्रै पत्रकारिताको जीवनको स्वतन्त्रता, सार्थकता भविष्यको सुनिश्चितता हुन्छ भन्ने गम्भीरताका साथ आत्समाथ गरेको विश्वास समेत बास्कोटाले व्यक्त गरेका छन् ।


कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष केदार तिमल्सिनाले पत्रकारको हकहित र अधिकार रक्षाका लागि निरन्तर लडिरहने बताए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य रिता ढकाल, एमाले काभ्रेका सचिव राजकुमार सापकोटा, उप–सचिव रत्नकुश रञ्जितकार, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने, पत्रकार महासंघका पुर्व अधयक्षहरु, प्रेस चौतारी काभ्रेका पुर्व अध्यक्ष, प्रस सम्बद्ध विभिन्न संघ संगठनका अध्यक्ष एवं पत्रकारहरुको उपस्थिती रहेको थियो ।