माग सम्बोधनका लागि शिक्षकका अगुवासँग कांग्रेस महामन्त्रीद्वयले गरे छलफल

विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सक्रियता देखाएका छन् ।

यसैक्रममा सोमबार संयुक्त रुपमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका उनीहरुले सोही दिन साँझ शिक्षक आन्दोलनका अगुवाहरुसँग पनि सामूहिक छलफल गरेका थिए । आज संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका कांग्रेसका सांसदहरुसँग छलफल गर्ने योजना उनीहरुको छ ।

शिक्षक तथा कर्मचारीहरुले माग गर्दै आएको शिक्षा ऐन सम्बन्धी विधेयक हाल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा छ ।

उनीहरुले शिक्षक तथा विद्यालय कर्मचारी मैत्री ऐन संसदबाट वा अध्यादेशबाट जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरुको शैक्षिक हड्तालका कारण विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण, वार्षिक परीक्षाको नतिजा प्रकाशन लगायतका काम प्रभावित भएका छन् ।

सोमबार कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले पार्टी सभापति देउवाको निवासमा पुगेर पनि शिक्षकका माग सम्बोधनका उपायबारे छलफल गरेका थिए । त्यसपछि शिक्षक आन्दोलनका अगुवाहरुसँग छलफल भएको थियो । पार्टी केन्द्रीय कार्यालयमा आयोजित छलफलमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महामन्त्री तुलाबहादुर थापा लगायत सहभागी थिए ।

करिब डेढ घण्टा चलेको छलफल सरकारले मन्त्रिपरिषदको निर्णयबाट गर्न सकिने निर्णय तत्काल गर्ने र शिक्षा ऐन जारी गर्नका लागि संसदीय समितिबाट छिटो विधेयक पास गरेर संसदमा पठाउने विषयमा केन्द्रित रहेको स्रोतले बताएको छ ।

आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको वार्ता अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।

शिक्षकहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीले चासो नदेखाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढ्दै गएको छ।