९ महिनादेखि शेखर–गगनको भेटघाट बन्द

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असारयता शेखर कोइरालालाई सँग भेटेका छैनन्। थापा ती नेता हुन् जसले कुनै समय ‘तपाईंकै उत्तराधिकारी हुँ’ भन्दै कोइरालालाई आश्वस्त पारेका थिए ।
असार ३१ बाट सम्बन्धमा थप दूरी बढाएका शेखर–गगनबीच त्यसयता एक्लाएक्लै छलफल भएको छैन। अन्तिमपटक २०८१ चैत १० शेखरले गगनलाई आफ्नो सचिवालय बालुवाटारमा छलफलका लागि बोलाए। तर, गगन गएनन्।
शेखर पक्षका एक नेता भन्छन्, ‘चैत १० गते लोकतान्त्रिक अपांग संघको महाधिवेशन विवाद र सर्लाही कांग्रेसको विवादबारे छलफल बालुवाटारमा बोलाइएको थियो। तर काठमाडौँमै हुनुभएका महामन्त्री आउनुभएन।’
त्यसअघि शेखरले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्न माघ २८ गते पनि बैठक राखेका थिए। उक्त बैठकमा पनि गगन गएनन्। गगननिकट नेताले पहिल्यै काठमाडौँबाहिरको कार्यक्रममा गएकाले बालुवाटार बैठकमा सहभागी नभएको बताए। उक्त दिन शेखरले पदाधिकारी र पूर्वप्रहरी प्रमुखसँग प्रहरी विधेयकबारे छलफल गरेका थिए। गगन–शेखरबीच पार्टी बैठकमा भेट हुँदा गर्ने ‘हेलो, हाइ’ बाहेक थप कुराकानी र हार्दिकताको संकेत देखिएको छैन।
जबकि ९ महिनाको यस अवधिमा गगनले सभापति शेरबहादुर देउवासँगको सम्बन्ध धेरै निकट बनाइसकेका छन्।
अघिल्लो महाधिवेशनमा एउटै प्यानलबाट क्रमशः सभापति र महामन्त्रीका उम्मेदवार बनेका शेखर–गगनबीच खटपट सुरु भएको गत संसदीय दलको नेताको चुनावबाट हो। २०८१ असार ३१ यता भने उनीहरूबीच झन्डै पानी बाराबारकै अवस्था आइपुगेको दुवैतर्फका नेताहरू बताउँछन्।