ओली–देउवाबीच अर्थपूर्ण भेटः चाँडै संयन्त्रको बैठक बोलाउने सहमति

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ। सरकारको कामकारबाहीको विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापासहित नेताले आलोचना गरिरहेका बेला दुई नेताबीच आज मंगलबार बिहान ११ बजे बालुवाटारमा छलफल भएको हो।

बालुवाटारमा करिब एक घन्टा दुई नेताबीच भएको छलफलमा गठबन्धनको आयु, तथा साझेदारीअनुरुप कार्यशैली नभइरहेको भनी आएका टिप्पणीबीच कुराकानी भएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार गठबनधनको औचित्य र अवधिलाई लिएर दुई शीर्ष नेताबीच कुनै पनि किसिमको अन्यौल छैन । उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले कांग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको सन्दर्भमा ओली र देउवाले आपसी समझदारी बढाउन छलफल गरेका हुन् ।

संयन्त्रको बैठक केही दिनभित्रैमा डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन् । हाल कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयन्त्रको संयोजक छन् । नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएसँगै एमाले र कांग्रेस वृत्तमा समेत विभिन्न कोणबाट विमर्श भइरहेको छ ।

छलफलमा सरकारका कामकारबाही तथा सत्तागठबन्धनको विषयबारे कुरा भएको नेताहरूले बताएका छन्।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पनि दुई नेताबीच नियमित भेट भइरहने र आज पनि त्यसकै निरन्तरता भएको दाबी गरे।

पछिल्लो साता सत्ता गठबन्धनलाई लिएर अनेक टिप्पणी भइरहेका बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।