यो सरकारको आयु लामो छैनः प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढेकाले सरकार धेरै नटिक्ने बताएका छन् । ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ अन्तर्गत आज पूर्वी नवलपरासी आएका अध्यक्ष दाहालले पत्रकार महासंघ नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
कांग्रेस र एमालेका नेताहरूसँग अनौपचारिक कुराकानी हुँदा सरकारप्रति सत्तासाझेदार र जनतामा चरम वितृष्णा फैलिएकाले केपी शर्मा ओली सरकारमा बसिरहनुको अर्थ नभएको जिकिर गरे । ‘ओली नेतृत्वको सरकारदेखि जनता र कांग्रेस एमालेकै नेता कार्यकर्ता असन्तुष्ट छन्,’उनले भने,‘ अब यो सरकारको आयु लामो छैन् , भन्ने मेरो बुझाइ हो ।’
शिक्षक , पत्रकार , लघुवित्त तथा विभिन्न राजनीतिक दल सडक आन्दोलनमा हुँदासमेत सरकारले मुकदर्शक बनेर बसेको दाहालको आरोप छ । आफ्नो पाटी सरकार र सत्तामा मात्र बढी केन्द्रित भएको आत्मालोचना गर्दै अहिले जनताको बिचमा आएको र माओवादीप्रति आम जनताको आशा र भरोसा रहेको अभियानका क्रममा आफूले महसुस गरेको बताए ।