यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ ।

मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो ।

यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो ।

जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ ।

जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रनजोड्दै लक्ष्य पूरा गरेको हो । दुई खेलमा दुवै हार खेपेको हङकङले अङ्कको खाता खोल्न सकेको छैन ।