शिक्षकहरुको आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा

शिक्षा विधेयक यथासक्य छिटो पारित गर्न माग गर्दै शिक्षकहरुले गरिरहेका सडक आन्दोलनले आज १७ औं दिन पनि निरन्तरता पाउँदैछ ।
। जसका कारण ११ वैशाखदेखि सुरु हुने कक्षा १२ का साढे पाँच लाख विद्यार्थीको परीक्षा नै अनिश्चित बनेको छ । राष्ट्रिय परीक्षा बोर्डले तीन महिनाअघि नै परीक्षा तालिका सार्वजनिक गरेको थियो । परीक्षाको मिति नजिकिँदै गर्दा विद्यार्थी प्रवेशपत्रसमेत लिएर तयारीमा जुटिरहेका छन् । तर, परीक्षा बोर्डले दुई–तीन दिनको तयारीमा परीक्षा सञ्चालन गर्न सम्भव नहुने बताएको छ भने विद्यालयका प्रधानाध्यापकहरूले माग पूरा नभएको अवस्थामा परीक्षा सञ्चालनका लागि सडक छाड्न नसकिने जवाफ दिएका छन् ।
आज शिक्षकहरुले दिउँसो १२ बजे माइतीघर मण्डलाबाट विरोध सभा शुरू गरी ३ बजे बानेश्वरमा पुगेर समापन गर्ने बताएका छन् ।
आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका जाँच, यही वैशाख ११ गतेदेखिको कक्षा १२ को परीक्षा, नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम प्रभावित भएका छन् ।
शिक्षकहरू नै सहभागी नहुने भएपछि कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए ।
आन्दोलनका कारण परीक्षा सञ्चालनबारे अन्योल बढेको भन्दै बोर्डले परीक्षामा सहभागी भएर परीक्षालाई सफल पार्न शिक्षकहरुलाई अनुरोध गरेको छ ।
बोर्डले कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सहयोग र सहभागिताका लागि शिक्षकहरुलाई आग्रह गरेको हो ।
नेपाल शिक्षक महासङ्घले भने विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका परीक्षामा सहभागी नहुने जनाएको छ ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि शिक्षा विधेयकलाई ऐनका रूपमा चाँडो पारित गरियोस् भन्ने मागसहित सबै शैक्षिक कार्यक्रम बहिष्कार गरी आन्दोलन गरिरहेका छन् ।
संसद्को शिक्षा समितिअन्तर्गतको उपसमितिले अहिलेसम्म विद्यालय शिक्षा विधेयकका ७६ दफा पारित गरेको छ । १६३ दफा रहेको विधेयकका ७६ दफामा छलफलपछि सहमति गर्दै पारित गरेको हो ।
त्यस्तै २० दफामा भने छलफल गरे पनि पारित हुन बाँकी रहेको समितिले जनाएको छ । उपसमितिमा हरेक दिन विधेयकमाथि ४र५ घण्टा छलफल हुँदै आएको छ । सरकारले यही वैशाख १२ गते संसद्को अधिवेशन बोलाएको छ ।