विरोधी शक्ति पर्याप्त छन्, पार्टीभित्रै एकले अर्कोलाई विरोध गर्न जरुरी छैनः ओली

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विरोधी शक्ति पर्याप्त भएकोले पार्टीभित्र नै एकले अर्कोलाई विरोध गर्न जरुरी नहुने बताए । नेकपा एमाले गैंडाकोट नगरकमिटीले आज नवलपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र सधैं पाइरहेका र अवसर लिइरहेकाहरू नै असन्तुष्ट बन्ने टिप्पणी गरे । उनले दुई तिहाइको कम्युनिष्ट पार्टी दुईपटकसम्म फुटाएर जानेहरू पार्टी भित्र अघाएर झरेका ‘किर्ना’हरू भएको टिप्पणी गरे ।

उनले गत संसदीय निर्वाचनमा एमालेका विरोधी राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू एक ठाउँमा उभिएर पार्टी सक्काउन खोजेको तर अब परिस्थिति त्यस्तो नहुने बताए ।

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन पार्टीले चलाएका जरा अभियानलाई प्रभावकारी बनाएर जनताको घरघरमा जान ओलीले आग्रह गरे ।