शिक्षकबाट खेदिएका माधव नेपालको स्पष्टीकरण– शिक्षकले नारा लगाएर स्वागत गरे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोमबार दिउँसो आफूसहित पार्टीका नेताहरूलाई ताली बजाउँदै नारा लगाएर स्वागत गरेको स्पष्टीकरण दिएका छन् ।
उनले विभिन्न सञ्चारमाध्यममा आफूहरूलाई आन्दोलनरत शिक्षकले ‘यहाँ नआउनू’ भन्दै आएका समाचारप्रति आपत्ति जनाउँदै यस्तो स्पष्टीकरण दिएका हुन् ।
‘शिक्षकहरूले हामीलाई खेदेका होइनन्, स्वागत गरेका हुन् । ताली बजाएर, नारा लगाएर, मुठ्ठी उचालेर हामीले नारामा साथ दिएका थियौं,’ अध्यक्ष नेपालले भने ।
सोमबार दिउँसो नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता दिन भन्दै नेपालसहित एकीकृत समाजवादीका नेताहरू पुगेका थिए । सो क्रममा शिक्षकहरू आफ्नो आन्दोलनमा नभइ संसद्मा बोल्नुपर्ने भन्दै ‘यहाँबाट गइदिनुस्’ भनेका थिए ।
तर, अध्यक्ष नेपालले घटना त्यस्तो नभइ शिक्षकहरूले भव्य स्वागत गरेको जिकिर गरे ।
अध्यक्ष नेपालले शिक्षकहरूमा अझै धेरै उत्साह र मनोबल बढेको आफूहरूले पाएको पनि बताएका छन् ।
शिक्षकहरुको जायज मागको पक्षमा आफ्नो पार्टी रहेको उनले बताए । उनले शिक्षकको माग सम्बोधन गर्न ज्ञापनपत्र वुझाउने बताए ।