पनौतीमा श्रमको सम्मान राष्ट्रको अभियान सम्बन्धी अन्तर्क्रिया

पनौती नगरपालिकामा श्रमको सम्मान राष्ट्रको अभियान सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । पनौती नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा उप–प्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै उप–प्रमुख बञ्जाराले कुनै पनि काम सानो ठूलो नहुने भन्दै श्रमको सम्मानमा जोड दिइन् । दक्षताको आधारमा श्रमको उचित मूल्य निर्धारण हुनुपर्ने उनको भनाई छ । तालिम र अनुभव मार्फत दक्षता हासिल गरेका व्यक्तिलाई रोजगार बनाउन र सीपयुक्त जनशक्ति तयार पार्न नगरपालिकाले काम गरिरहेको उप–प्रमुख बञ्जाराले बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, निर्देशक प्रणराज न्यौपाने लगायतले प्रधानमन्त्री रोजगार कार्यक्रमको उदेश्य, यसले पारेको प्रभाव, आगामी योजना लगायतका बारेमा जानकारी गराएका थिए ।

पनौती नगरपालिका रोजगार सेवा केन्द्रकी रोजगार संयोजक बसन्ती सुवेदीले प्रधानमन्त्री रोजगार कार्यक्रमले कामलाई सीपसँग जोडेको बताइन् ।

विपन्न व्यक्तिलाई न्युनतम १ सय दिनको रोजगारी दिने उदेश्यले सुरु गरिएको कार्यक्रममा हाल ७४ जनाले रोजगारी पाएको उनले जानकारी दिइन् । उनीहरुले श्रम गरेको दिनमा दिनको ६ सय ८४ रुपैयाँका दरले पारिश्रमिक प्राप्त गर्छन । श्रमिकलाई सडक सरसफाई, सिँचाई कुलो निर्माण तथा सरसफाई र गोरेटो बाटो सरसफाईका क्षेत्रमा खटाइएको छ ।

युवा रोजगारीलाई ध्यान दिँदै प्रधानमन्त्री रोजगार कार्यक्रमले तालिममा जोड दिएको सुवेदीले बताइन् । अहिले नगरपालिकामा ३५ जना युवाले मेसन र प्लम्बिङको तालिम लिइरहेका छन् । दक्ष जनशक्ति तयार पार्नका लागि तालिममा जोड दिएको संयोजक सुवेदीले बताइन् । श्रमिकलाई कामको सम्मान गर्ने धारणा भयो भने रोजगारका लागि पलायन हुने संख्यामा कमी आउने उनको विश्वास छ ।

अनतरक्रिया कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक दिनेश कुमार कोइरालाले सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदान र लाभ, सहभागी हुनुपर्ने कारणहरु, आवद्ध हुने प्रकृयाका बारेमा जानकारी गराएका थिए ।
यस्तै वैदेशिक रोजगार बोर्ड सचिवालयका उप–निर्देशक कल्पना रेग्मीले वैदेशिक रोजगार सम्बन्धी कानुनी व्यवस्था र वैदेशिक रोजगारको वर्तमान अवस्था तथा सम्भावनाका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध श्रमिक, क्याम्पस प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक, सहकारीका प्रमुख एवं प्रतिनिधि, युवा व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।