प्रधानमन्त्री ओली र नेकपा एसको प्रतिनिधिमण्डबीच दुई घण्टा छलफल, ‘कोर टिम’ बनाउन प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेताहरूसँग ‘कोर टिम’ बनाएर छलफल गर्न प्रस्ताव गरेका छन्।
ज्ञापनपत्र बुझाउन गएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेका हुन्। एमालेबाट विभाजित भई बनेको पार्टी भए पनि एकीकृत समाजवादीका नेताहरूसँगको कुराकानीमा प्रधानमन्त्री ओली यसपटक विगतमा जस्तो असहज देखिएनन्।
मुलुकमा देखापरेका विभिन्न समस्या समाधान र सरकारले ल्याउने नीति तथा कार्यक्रममा पार्टीका तर्फबाट सुझाव दिनका लागि एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले बुधबार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको थियो।
प्रतिनिधिमण्डलमा अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव प्रकाश ज्वालालगायत १५ नेता थिए।
नेताहरूले दरबारिया र प्रतिगामी चलखेल बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए। पार्टीको तर्फबाट राखिएको ज्ञापनपत्र महासचिव घनश्याम भुसालले पढेर सुनाएका थिए भने पार्टीको तर्फबाट आधिकारिक धारणा राख्ने काम अध्यक्ष माधव नेपालले गरेका थिए।
एकीकृत समाजवादीको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री ओलीले झण्डै दुई घण्टा बिताएका थिए। ज्वालाका अनुसार, समय अभाव र प्रतिनिधिमण्डल पनि ठूलो भएकाले ओलीले अलि सानो टोली बनाएर छलफल गर्न अध्यक्ष माधव नेपालसँग प्रस्ताव गरेका थिए।