धुलिखेल–२ मा बालविवाह अन्त्यका लागि सामुहिक प्रतिबद्धता

धुलिखेल नगरपालिका वडा नम्बर २ मा बाल विवाह अन्त्यका लागि सामुहिक प्रतिबद्धता, बालक्लब पुर्नगठन, बाल भेला र क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
जेठ ३ र ४ गते भएको छुट्टा छुट्टै कार्यक्रममा दुई दिन सेतीदेवी माविमा बालक्लब पुर्नगठन, बाल भेला र क्षमता अभिवृद्धि तालिम भएको थियो भने ४ गते आइतबार बालमैत्री निरन्तरता सहित बालविवाह अन्त्यका लागि सामुहिक प्रतिबद्धता कार्यक्रम गरिएको छ ।
धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु, पूर्व जनप्रतिनिधि, प्रधानाध्यापक, विद्यार्थी, विभिन्न राजनीतिक दलका प्रमुखहरु, धर्मगुरुहरु, स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुबीच अन्तरक्रियात्मक कार्यक्रम सहित प्रतिबद्धतामा हस्ताक्षर गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले बालमैत्री संरचना निर्माण सहित बालबालिकाको क्षमता विकासका लागि काम गरिरहेको बताए । क्षमता पहिचानका लागि अतिरिक्त क्रियाकलाप, बालबालिकाको माग अनुसार योजना निर्माण, सीप हस्तान्तरण कार्यक्रम नगरपालिकाले गर्दै आएको उनले बताए ।
वडा अध्यक्ष न्यौपानेले अझै पनि बालविवाहको जोखिम रहेको बताए । वडा कार्यालय, बाल संजाल र स्थानीयको सामुहिक प्रतिबद्धताले मात्रै बाल विवाह रोक्न सकिने उनको भनाई थियो । अध्यक्ष न्यौपानेले समुदायको पूर्ण हयोगमा मात्रै बालबालिकाको भविष्य उज्वल बनाउन सकिने बताएका छन् ।
बालबालिकाको वडा स्तरीय बालक्लब पुनः गठन गरि विभिन्न प्रक्रिया हरु बाट बाल भेला गरि बालबालिकाको प्राथमिकतामा परेका योजनाहरुलाई वडा लाई बुझाउने नगर बाल संजालका सदस्य एवं धुलिखेल नगरपालिका वडा नम्बर २ का बालबालिका प्रतिनिधि आयुष न्यौपानेले बताए । २ दिने प्रशिक्षण कार्यक्रममा धुलिखेल नगर बाल संजालका सहजकर्ता एवं सल्लाहकार सुबोध धिमाल र नगर बाल संजाल अध्यक्ष समिर प्रजापतिले प्रशिक्षण दिएका थिए ।



