रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई सोमबार पनि स्थगित भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको पेसी तोकिएको थियो । तर, उक्त पेसी न्यायाधीशले हेर्न नमिल्ने भन्दै स्थगित गरे ।
अब अर्को पेशी मंगलबारका लागि पेसी तोकिएको छ ।
यसअघि हिजो (आइतबार) न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश जारी गरेको थियो ।
सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
तर, सरकारी वकिलको कार्यालयले उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा पुनरावेदन गरेपछि उच्च अदालतले चैत २२ गते लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो । सोही आदेशपछि उनी पुनः पक्राउ परी रुपन्देही कारागारमा थुनामा परेका छन् ।
रिट निवेदनमा लामिछानेले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी तीन दिनपछि मात्र कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग राखेका छन् । साथै, थुनामा पठाउने उच्च अदालतको आदेशसमेत बदर गरिदिन अनुरोध गरिएको छ ।
उक्त मुद्दामा लामिछानेसँगै संलग्न रहेका अर्का प्रतिवादी पूर्व डिआईजी छविलाल जोशी पनि हाल रुपन्देही कारागारमै थुनामा छन् ।
एउटै मुद्दामा जोशीलाई थुनामा राखिएको भए पनि जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्दै समान आधारमा कारवाहीको माग गरेको थियो ।