अर्थमन्त्री र गभर्नर दुई पौडेलको सम्बन्ध कस्तो छ ?

सत्तामा रहेका दुवै दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विभिन्न चरणका छलफल र रस्साकस्सीपछि अन्ततः कांग्रेसनिकट मानिएका अर्थशास्त्री डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त भएका छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको निर्णायक चरणको छलफलपछि तत्कालै सिफारिस समितिको बैठक र मन्त्रिपरिषद् बसेर गभर्नर नियुक्त गरिएको हो।

ओली र देउवाको छलफलपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वको समितिले उनीसहित ३ जनाको नाम गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।
समितिले विश्वनाथ पौडेलका अलावा डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम पनि सिफारिस गरेको थियो। तीमध्येबाट राजनीतिक सहमतिबमोजिम विश्वनाथ पौडेलको नाम मन्त्रिपरिषद्ले चयन गरेको हो।

अर्थमन्त्रीसँग गभर्नरको ‘ट्युनिङ’ मिलेको देखिन्छ । विश्व नेपाली कांग्रेसबाट सिफारिस भएका गभर्नर भए पनि नेकपा एमालेका हालका अर्थमन्त्री विष्णु पौडेलसँग पनि नजिक छन्।

अर्थ मन्त्रालय र केन्द्रीय बैंकबीच हातेमालो हुँदा र नहुँदा फरक महसुस गरेका निजी क्षेत्रका लागि यो खुसीको कुरा हुनेछ।

गभर्नर सिफारिस समितिका संयोजक रहेका अर्थमन्त्री पौडेलसँग उनी २०७८ सालको बजेट बनाउँदादेखि नै नजिक छन्।

२०७८ सालमा बजेट निर्माणको क्रममा उनको विशेष भूमिका थियो। उनकै सल्लाहबमोजिम बजेट बनाएको हुँदा पनि अर्थमन्त्री पौडेलसँग उनको सम्बन्ध राम्रो रहँदै आएको छ।

यसरी राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीबीच ‘ट्युनिङ’ मिल्दा अर्थतन्त्रमा राम्रो सन्देश जाने अर्थविद्हरू बताउँछन्।