पशु सेवा कार्यालयको समिक्षा र योजना तर्जुमाः पशुपन्क्षीमा देखिने आकस्मिक रोग देखि सीप विकासका कार्यक्रम प्रस्ताव
धुलिखेल/पशु सेवा कार्यालयको चालु वर्ष २०८१/२०८२ को तेश्रो त्रैमासिक अवधिसम्मको प्रगति समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि प्रस्तावित योजना सम्वन्धी अन्र्तक्रिया धुलिखेलमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित १३ वटै पालिकाका जनप्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पालिका स्तरमा कार्यरत कृषि तथा पशु सेवा शाखाका कर्मचारीहरु र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यालयको प्रगति तथा आगामी कार्यक्रमका बारेमा पशु सेवा कार्यालय काभ्रेकी प्रमुख डा.सिर्जा वाग्लेले जानकारी गराएकी थिईन् ।
समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम पुरानो एउटा र नयाँ २ वटा रहेका छन् । नयाँ सम्झौताको चरणमा छ । पशुपंक्षी तथा मत्स्य उपचारमा प्रयोग हुने औषधी खरिद, पशुपंक्षी रोग निदानका लागि ¥यापिट टेष्टकिट खरिद, सार्वजनिक सम्पतिको नियमित मर्मत सम्भार, पशुपंक्षी तथा मत्स्य उद्यमशिलता विकास, तथ्यांक संकलन तथा प्रेशण, बार्षिक प्रगति पुस्तिका प्रकाशन, पशुपंक्षी रोग सर्भिलेन्स तथा नमुना संकलन र परीक्षण लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।
पशुपंक्षीमा देखिने आकस्मिक रोग नियन्त्रण, बाख्रा प्रर्वद्धन, वर्ड फ्लु रोग नियन्त्रण, पशु आहारा आत्मनिर्भर, रेबिज रोग नियन्त्रण, लप्पी रोग नियन्त्रण, बंगुर प्रर्वद्धन, पशुपंक्षीसँग सम्वन्धित विभिन्न दिवस आयोजना, मागमा आधारित जिविकोपार्जन कार्यक्रम, पशुपंक्षीमा लाग्ने संक्रामक रोग विरुद्धको खोप, दुग्धमा उत्पादन बृद्धि, निजी क्षेत्रको साझेदारीतामा दुग्धजन्य पदार्थ भण्डारणको लागि कोल्डरुम निर्माण सहयोग, पशुपंक्षी तथा मत्स्यजन्य पदार्थ उपभोग प्रर्वद्धन, पशुपालनमा असल अभ्यास प्रर्वद्धन, यन्त्र तथा उपकरण वितरण लगायतका कार्यक्रम सम्पन्न भएको कार्यालय प्रमुख डा.वाग्लेले बताईन् ।
विगतमा भएका कार्यक्रमहरुको निरन्तरता तथा पशुपंक्षीपालन सम्वन्धी सीप विकास तालिमहरु आगामी वर्षका लागि प्रस्ताव गरिएको छ । स्थानीय तहमा रहेका पशु सेवा शाखाहरुले निरन्तर पशुपंषी रोग सर्भिलेन्स, संक्रामक तथा आकस्मिक रोग नियन्त्रणका लागि आवश्यक वजेट विनियोजन, खोप कार्य र नियमित रिपोर्टहरु उपलब्ध गराउने र प्रर्वद्धनात्मक कार्यक्रमहरुमा दोहोरापना हुन नदिन सचेत रहनु पर्ने बताईन् ।
सहभागिहरुले स्थानीय तहमा भएका कार्यक्रमहरुको निरन्तरता तथा समन्वयात्मक भूमिकाका बारेमा सुझाव दिएका थिए । पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकको कार्यक्षेत्र चालु आर्थिक वर्ष देखि सिन्धुपाल्चोक पनि परेको छ ।






