नागढुङ्गा-नौबिसे सडकखण्ड १६ दिनसम्म साढे चार घण्टा बन्द
काठमाडौं / राजधानी प्रवेश गर्ने मुख्य नाका मानिने नागढुङ्गा–नौबिसे सडकखण्ड आगामी जेठ १० गतेदेखि २५ गतेसम्म हरेक दिन साढे चार घण्टा बन्द गरिने भएको छ । निर्माण कार्य तीव्र पार्न सडक बन्द गर्न लागिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार नागढुङ्गा–पिपलामोड सडक निर्माण आयोजनाको प्रस्तावअनुसार बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म यातायात आवागमन रोक्ने निर्णय गरिएको हो । ‘यसअघि रातिको समयमा भत्काउने काम भइरहेको थियो, अब प्राविधिक कारण दिउँसो नै निर्माण गर्नुपर्ने भएकाले यस्तो व्यवस्था मिलाइएको हो,’ प्रजिअ तिवारीले भने ।
निर्माणका कारण बन्द रहने समयमा वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा सवारी चालकहरूलाई अनुरोध गरिएको छ । नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले सार्वजनिक सूचना जारी गर्दै काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई नागढुङ्गामा तथा नौबिसेबाट भित्रिने सवारीलाई खानीखोलामा रोकिने जानकारी गराएको छ ।
बन्द अवधिमा वैकल्पिक मार्गका रूपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न सकिने बताइएको छ ।






