छोरीलाई इज्जत छोरालाई कुल

परम्परागत सोच बोकेको हाम्रो नेपाली समाजमा छोराछोरीबीचको विभेद एक लामो समयदेखि चलिआएको सामाजिक यथार्थ हो। जति नै समानताको कुरा गरेपनि छोरीलाई दोस्रो नै दर्जामा राखिन्छ । अर्काको घरमा जाने जातू, चुलो चौको गर्ने जातू जस्ता भनाईहरुले महिलाहरु दिनदिनै पिडित भइरहेका छन् । छोरीलाई “अर्काको घरमा जाने” भनेर हेर्दा उसको पहिचानलाई उसको जन्मघरमा होइन, उसको बिहेपछि मात्रै अर्थ लाग्ने बनाइन्छ। चुलो चौको गर्ने जात” को रूपमा हेर्दा महिलालाई केवल घरायसी काममा सीमित राखिन्छ, जसले उसको आर्थिक स्वतन्त्रता र सामाजिक सशक्तिकरणमा बाधा पुर्याएको छ ।
छोरीलाई इज्जत र छोरालाई कुलसँग जोडेर व्याख्या गर्छ हाम्रो समाज । हाम्रो समाजमा आज पनि छोरीलाई इज्जतको प्रतीक र छोरालाई कुल र वंशको धरोहर मानिन्छ । छोरीलाई घरको इज्जतको रूपमा हेरिन्छ, जसको हरेक हिँडाइ, बोलाइ, हाँसो वा व्यवहारमा मर्यादाको भार थोपारिन्छ। अर्कोतर्फ, छोरा भने कुलको बंश बढाउने, धर्मकर्म गर्ने र वृद्ध अवस्थामा सहारा बन्ने “उत्तराधिकारी” मानिन्छ।छोरीको हरेक चाल, बोलाइ, हाँसो, पहिरन, हिँडाइसम्ममा पनि संस्कारको निगरानी हुन्छ। उनलाई सधैं मर्यादित र अनुशासित देखिनुपर्ने अपेक्षा गरिन्छ। तर अर्कोतर्फ छोराहरूलाई भने “घरको उत्तराधिकारी”, “कुल बंश चलाउने”, “हिम्मतिलो” भनेर स्वतन्त्रता दिइन्छ तर ती स्वतन्त्रतासँगै आउने जिम्मेवारीहरू भने अक्सर भुलिन्छन्।
छोरीमान्छे घरको काममा अब्बल हुनुपर्छ भन्ने सोच एक यस्तो सामाजिक भ्रम हो जसले पुस्तौंदेखि छोरीहरूलाई बाँधिराखेको छ। यो सोचले छोरीहरूको क्षमता, भविष्य, सपनाहरू र अवसरहरूलाई घरको सीमाभित्र मात्र सीमित गरिदिएको छ। छोरीको मूल्यांकन घरको कामकाज , खाना पकाउने, सरसफाइ गर्ने, बच्चा हेर्ने जस्ता भूमिकाबाट मात्रै गरिन्छ। उसको अन्य क्षमता, रुचि, सीप वा करियरको चाहना उपेक्षित हुन्छ । जुन घर जान्छे, त्यहाँ मिल्न जान्नुपर्छ ,सासू–ससुराको मन जित्नुपर्छ जस्ता भनाइहरूले उसलाई केवल सेवकको भूमिकामा सीमित बनाउँछ। जब उसलाई आफ्ना सपनाभन्दा पहिला अरूको सेवा गर्न सिकाइन्छ, तब उसको आत्मबल, आत्मविश्वास र आत्मनिर्भरता कमजोर हुन जान्छ।
छोरो ठूलो भएपछि कमाउनेछ, बुढेसकालमा सहारा दिनेछ। त्यसैले उसमा लगानी गर्नु फाइदाजनक ठानिन्छ । छोरालाई बोर्डिङ पढाएर छोरीलाई सरकारी स्कुल पढाउने प्रचलन नेपालका धेरै ठाउँहरुमा छन् । छोरीलाई विवाहित जीवनमा मात्र सीमित देख्ने सोचले गर्दा उनलाई राम्रो शिक्षा दिने प्राथमिकता कम दिइन्एका धेरै उदाहरण छन् ।
छोराछोरीबीचको विभेद हाम्रो समाजमा गहिरो रूपमा जरा गाडेको पुरातन सोच र संस्कारको परिणाम हो। यसले छोरीहरूलाई शिक्षा, स्वास्थ्य, सम्पत्ति, निर्णय–स्वतन्त्रता लगायतका आधारभूत अधिकारबाट वञ्चित गराउँछ भने समाजको आधा जनसंख्याको सम्भावना कुण्ठित बनाउँछ। यस्ता विभेदले केवल छोरीहरूलाई मात्र होइन, समग्र समाजको प्रगतिमा पनि बाधा पुर्याउँछ। तर, पछिल्ला दिनहरूमा शिक्षा, सचेतना अभियान, कानुनी प्रावधान तथा महिलाको सक्रियताका कारण यो सोचमा क्रमशः सुधार हुँदै गएको देखिन्छ। यद्यपि, पूर्ण समानताको लागि अझै धेरै प्रयास आवश्यक छ।