बनेपा नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिकः रात्रिकालिन व्यवसाय सञ्चालन गरिने

बनेपा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगर सभाको १६ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट प्रस्तुत भएको छ । सभामा नगरप्रमुख शान्तिरत्न शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शाक्यले स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सीपमा आधारित उद्यम विकासलाई प्रोत्साहन गरिने बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको ज्ञान, सीप, र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछ ।

नगर क्षेत्रभित्र रात्रिकालिन व्यवसाय सञ्चालनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक समन्वय गरिने नगरपालिकाले जनाएको छ । नगरभित्रका पर्यटकीय क्षेत्रको पवद्र्धन गर्नका लागि कार्यक्रम सञ्चालन गर्नुका साथै युवाहरुलाई पर्यटन पथप्रदर्शकका रुपमा परिचालन गर्न भाषा शिक्षण कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख शाक्यले बताए ।


सहकारी संस्थाहरुको साख जोगाउन तथा बचतकर्ताहरुको बचतको सुरक्षा प्रत्याभुतीका लागि कानुन विपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने छ भने निष्कृय रहेका सहकारीलाई खारेज गर्ने नग प्रमुख शाक्यले बताएका छन् । नयाँ सहकारी दर्ता नगर्ने समेत नगरपालिकाले नीति लिएको छ । एकीकरणको अवस्थामा बाहेक कार्य क्षेत्र विस्तार नगरिने नगरपालिकाले जनाएको छ ।

नगरभित्र सञ्चालित विद्यालयहरु मध्ये कक्षा ५, ८, १० र १२ को नतिजाको आधारमा बढीमा ४ वटा विद्यालयलाई नगद सहित मेयर उत्कृष्ट शैक्षिक पदकबाट सम्मान गरिने कार्यक्रम सञ्चालन हुनेछ । बनेपाको अभियान, प्रतिभा पहिचान का लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ । एक वडा एक खेल मैदान योजनालाई निरन्तरता दिइएको छ । सबै स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था बनाइनेछ । हरेक वडामा योग केन्द्र स्थापना र सञ्चालनमा प्रोत्साहन गर्ने नीति नगरपालिकाको छ ।


गुणस्तरीय खानेपानी सुविधा सुनिश्चित गर्न प्रयोग भइरहेका स्थानीय पानीका स्रोतहरुको संरक्षण गर्ने र सम्भाव्य थप स्रोतहरुको उपयोग गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख शाक्यले बताए । ज्येष्ठ नागरिककको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्युतीय प्रणालीलाई भुमिगत गर्ने कार्य थालनी गरिनेछ । कृषि क्षेत्रमा संलग्न कृषकहरुको विवरण संकलन गरी किसान परिचयपत्रको व्यवस्था मिलाइने नगर प्रमुख शाक्यले बताए ।


नगर सभामा उप–प्रमुख विमला सापकोटाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित आर्थिक विधेयक पेश गरेकी छन् । विधेयक पेश गर्दै उनले अन्य निकायमा दर्ता भएका तर बनेपा नगरपालिकाको करको दायरामा नआएका करदाताहरुको हकमा आर्थिक वर्ष २०७४/७५ लाई आधार वर्ष मानी व्यवसाय कर असुल गरिने बताइन् । यस्तो व्यवसाय पौष मसान्तभित्र दर्ता गर्न आएमा व्यवसाय कर र बहाल करमा जरिवाना लाग्ने छैन । सभामा सदस्यहरुले सार्वजनिक सम्पतिको संरक्षण, बजेट वितरण, विपदजन्य घटनाका लागि गर्नुपर्ने पुर्वतयारी लगायतका विषयमा धारणा राखेका थिए ।