सुन तस्करीमा संलग्न अमला रोक्का पक्राउ, को हुन अमला ?

६१ किलो सुन तस्करी प्रकरणका आरोपित अमला रोक्का पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई आज काठमाडौँको टोखाबाट नियन्त्रणमा लिएको हो ।

रोल्पाको थवाङ्ग घर भएकी अमला तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् । सुन तस्करीका नाइके दावा उतिबेलै पक्राउ परेपनि अमला भने फरार थिइन् ।

ठमेलमा भियना होटल सञ्चालन गर्दै आएकी उनीविरुद्ध प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।

थवाङ गाउँपालिका –२, रोल्पा घर भएकी अमला रोक्काका दुई श्रीमान् रहेको खुलेको छ । अमला रोक्काको मतदाता नम्बर २०६११०१९३ नम्बर उल्लेख छ ।

०३६ साल जेठ २० गते जन्म मिति रहेको रोक्काको नागरिकता नम्बर ४४१०४ उल्लेख छ । उनले रोल्पा जिल्लाबाटै नागरिकता लिएकी हुन् । बाबु मूलमान र आमा उजला राखेकी अमलाले पतिको नाम सुजनप्रकाश रोक्का राखेकी छन् । मतदानस्थलमा साविक थवाङ गाविस भवन लेखिएको छ ।

२०७९ वैशाख २८ गते अध्यागमन विभाग, कालिकास्थान, काठमाडौँमा आगमन÷प्रस्थान सहजीकरण गरिदिने सम्बन्धमा दिएको निवेदनमा दावाले भनेका छन्, ‘नेपालको पर्यटक भिसामा बसिरहेको बेल्जियमको नागरिक म दावा छिरिङ राहदानी नम्बर इपी ४४४१०५ लाई नेपालबाट अन्यत्र मुलुकमा जान र अन्यत्र मुलुकबाट नेपाल प्रवेश गर्नका लागि सहजीकरण गरिदिन हुन अनुरोध छ । दावा छिरिङको तर्फबाट निजकी श्रीमती श्री अमला रोक्का नागरिकता प्रमाणपत्र नम्बर ४४१०४÷रोल्पा ।’ दावाले निवेदनमा दायाँ बाँया ल्याप्चेसहित हस्ताक्षर गरेका छन् ।

अमला रोक्काको पहिलो श्रीमान् सुजन प्रकाश रोक्का हुन् भने दोस्रो श्रीमान् दावा छिरिङ । गृह मन्त्रालयले निमा तामाङको नागरिकता छानबिन गर्न गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा अमला रोक्काका दुई श्रीमान् भएको उल्लेख छ । दावाले नेपाली नागरिकता निमा तामाङको नामबाट २०७४ पुस २० गते नमोबुद्ध ११ काभ्रेपलाञ्चोकको ठेगाना राखी लिएका छन् भने राहदानी पनि काभ्रेबाटै पाएका हुन् । उनले बाबुको नाम पेमा तामाङ राखेका छन् । एकै दिन नागरिकता लिएका पासाङ तामाङ समेत विदेशी भएको खुले पनि उनि कहाँ र कस्तो अवस्थामा छन् खुलेको छैन । छानबिन समितिले उनलाई समेत पक्राउ गरी आवश्यक कारबाहीका लागि सुझाव पेश गरेको छ ।

२०८० भदौ ११ गते छानबिन समितिले गृहसचिवलाई १ सय ६८ पृष्ठको प्रतिवेदनको बुझाएको छ । उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा बनेको समितिले १० वटा विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएको समाचारहरूको खोजी र अध्ययन गरेको छ भने तत्कालीन समयमा नागरिकता वितरणमा संलग्न तत्कालीन अधिकृत झपेन्द्रराज खरेल, सुब्बा रामचन्द्र अर्याल, वडा अध्यक्ष भनिएकी सरस्वती पण्डित कार्की, वडा अध्यक्ष कृष्णबहादुर लामा र तत्कालीन प्रमुख जिल्ला अधिकारी शिव सिंखडा समेतसँग बयान लिएको छ ।

राहदानी विभागबाट लिएको राहदानीमा प्रयोग भएको औंठा छाप र नागरिकता अभिलेखमा उल्लेख भएको औँठाछाप फरक परेको छ । समितिले ०७४ पुस २० गते ३०–०१–७४–११८६८ नम्बरको निमा तामाङको नागरिकता फोटोसहितको ढड्डा र सिएमआईएस अभिलेख रहेको तर अनुसूची १ फारम अभिलेख नभेटिएको तथा मौकामा गरिएको सर्जमिन मुचुल्का तथा छानबिन तहकिकातमा प्राप्त प्रमाणका आधारमा नागरिकता प्रमाणपत्र किर्ते जालसाजी गरी लिएकोले उक्त कार्यमा संलग्नलाई आवश्यक कानुनी कारबाही गर्न सुझाव दिएको छ ।

निमा तामाङका नाममा जारी भएको नेपाली राहदानीहरू राहदानी नम्बर १०७४२५५० र १०८०५८०८ जारी गर्दा राहदानी विभागमा सुरक्षित रहेको औठाछाप बेल्जियम नागरिक दावा छिरिङको राहदानी नम्बर न्ब् ४५९७३६४ को औंठाछापसँग मेल खाएको विधिविज्ञान प्रयोगशाला सामाखुशीबाट प्राप्त भएकाले प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सुझाव दिएको छ ।