‘सरकारी खातामा जम्मा गर्नु पर्ने धरौटी लेखापालको खातामा’ समाचारप्रति खनालको खण्डन

by | असार १२, २०८२

सरकारी खातामा जम्मा गर्नु पर्ने धरौटी लेखापालको खातामा समाचारप्रति खनालको खण्डन

मदानी बिट डट कमले ‘सरकारी खातामा जम्मा गर्नु पर्ने धरौटी लेखापालको खातामा’ शीर्षकमा प्रकाशन गरेको समाचारप्रति काभ्रेपलाञ्चोक जिल्ला अदालतका तत्कालित लेखापाल एवं हाल जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा लेखापालका रुपमा कार्यरत नरहरीप्रसाद खनालको खण्डन प्राप्त भएको छ । उनले आफुले अनियमितता गरेको भन्ने हल्ला कपोकल्पित र भ्रामक रहेको बताएका छन् । तर हाम्रो समाचार प्रमाणिक स्रोतमा आधारित रहेको स्पष्ट पार्दै सबै कागजात सुरक्षित रहेको जानकारी गराउँदछौं । समाचारप्रति लेखापाल खनालको खण्डनः

श्री सम्पादक ज्यू,
मदानीबिट डटकम ।

विषयः समाचारको खण्डन गरिदिने बारे ।

उपरोक्त सम्बन्धमा मदानीबिट डटकम अनलाइनले असार १ गतेको मितिमॉ‘सरकारी खातामा जम्मा गर्नु पर्ने धरौटी लेखापालको खातामा’’ शिर्षकमा र असार ८ गतेको मितिमॉ‘सरकारी धरौटी व्यक्तिगत खातामा जम्मा गर्ने खनाललाई संरक्षण, सुचना चुहाएको भन्दै लेखापालको सरुवा’’ शिर्षकमा मेरो नाम जोडेर, मलाई कुनै थाहा नै नदिई, मेरो व्यक्तिगत चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन गरेको थाहा हुनआयो । उक्त समाचारमा समाचारको शिर्षकसँग नमिल्ने विभिन्न डकुमेन्टहरुलाई प्रमाणका रुपमा समावेश गरेर थप भ्रम सिर्जना गरिएको रहेछ ।
सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतमा लेखा प्रमुख रहने लेखापालले धरौटी रकम नगदै बुझ्ने नगरेको र ब्यक्तिले कार्यालयमा जम्मा गरेको रकम सम्बन्धित फाँटले भोलिपल्टै बैंक दाखिला गरी भौचर मात्र लेखापालले बुझ्ने गरेकोले मेरो नामै तोकेर लेखापालले व्यक्तिगत खातामा धरौटी रकम राख्ने गरेको पुष्टि भन्ने समाचारमा व्यक्तिगत चरित्र हत्याको मनशायबाहेक कुनै सत्यता छैन ।
जिल्ला अदालतको धरौटी रकम कार्यालय कोडमा बैंक मार्फत जम्मा गरी त्यसको भौचरको मात्र रेकर्ड लेखापालले राखी आम्दानी बाध्ने ब्यवस्था रहेको स्पष्ट छ । महालेखा नियन्त्रक कार्यालयको सिस्टम नखुल्दा कहिलेकाही नाम ढिलो दर्ता हुनसक्ने तर, त्यसअघिको अवस्थामा पनि कोलेनिकाको एकल खातामै धरौटी रकम रहिरहने भएकोले लेखापालले अनियमितता गरेको भन्ने हल्ला प्रथम दृष्टिमै कपोकल्पित र भ्रामक छ ।
कम्प्युटर रेकर्ड राख्ने बेलामा कोही कसैको नाम अथवा थरमा फरक पर्ने सम्भावना भएपनि त्यो प्राविधिक समस्या मात्र भएको र त्यसलाई कोडको आधारमा रुजु गरी हेर्दा सजिलै पत्तालाग्ने र समस्या नहुने स्पष्ट पार्न चाहन्छु ।
यथार्थमा, समाचारमा उल्लेख भएका दिपेन्द्र भुजेलको धरौटी रकम प्राविधिक भूलबस भुजेल थरको सट्टा दिपेन्द्र नेपालीमा इन्ट्री भएकोे छ । कोड नम्बर १३२४ दिपेन्द्र नेपालीमा दिपेन्द्र भुजेलको रकम इन्ट्री भएकोबारे हेर्न सकिन्छ ।
यो प्राविधिक समस्याबारे मलाई स्पष्ट पार्ने मौका समेत नदिई विषयलाई तोडमरोड गरी व्यक्तिगत चरित्रहत्या गर्नेगरी समाचार प्रकाशन गर्दा यसले निष्पक्ष पत्रकारितामाथि प्रश्न उठेको छ । आगामी दिनमा समाचार संस्प्रेषण गर्दा सम्बन्धित पक्षको प्रतिक्रिया समावेश गर्नुपर्ने भन्ने लगायत नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचार संहिताको पालना गर्न आग्रह गर्दै यो समाचार अन्य माध्यमबाट पनि प्रकाशित भएको भए सबैतिर खण्डन प्रकाशित गरीदिन आग्रह गर्दछु ।

 निवेदक
नरहरीप्रसाद खनाल
लेखापाल
हाल, जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोक