अरुलाई प्रश्न गर्ने होइन, विवेकको दीप बाल्नुस् : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै विवेक नै आन्तरिक सत्यमा प्रकाश दिने ‘दीप’ भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले हामीलाई अरुमाथि प्रश्न गर्नेभन्दा पनि आफ्नो आन्तरिक सत्यलाई उजिल्याउने साक्षात् ‘दीप’ अर्थात् विवेक चाहिनेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री ओलीले पूर्वीय दर्शनमा गुरु र शिक्षकको भूमिका फरक रहेको उल्लेख गरे । उनले लेखेका छन्, ‘हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ ।’
गुरुलाई अन्धकारबाट प्रकाशतर्फ डोऱ्याउने पूज्य पात्रको रूपमा व्याख्या गर्दै प्रधानमन्त्रीले गुरुले व्यक्तिलाई नैसर्गिक स्वभाव चिनाउन मद्दत गर्ने बताए । गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि मनाइने स्मरण गराउँदै उनले गुरुको महत्त्वमाथि प्रकाश पारे ।
उनले सबैको अन्तरतममा ज्ञानको उज्यालो फैलिने कामना गरेका छ न्। ‘गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्। सबैलाई शुभकामना !’ प्रधानमन्त्रीले लेखेका छन् ।






