जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको बार्षिक प्रगति विवरण सार्वजनिक

धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका संचारकर्मीहरुसँग जिल्लामा भएका विभिन्न गतिविधि तथा विपद ब्यवस्थापनमा भएका कृयाकलापका बारेमा जानकारी गराएको छ ।

कार्यालयका कर्मचारीहरुले सरकारी नीति नियम, कानून तथा सरकारी वकिल कार्यालय मार्फत मुद्दाहरुको अभियोजन र अनुसन्धानमा हुने कृयाकलाप, नागरिकता सम्वन्धी ब्यवस्थाका बारेमा जानकारी गराएको थियो । साथै पछिल्ला समय भएका अपराधमा नागरिकहरु सचेत हुनु पर्ने विषयमा जानकारी गराएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, नावालक परिचयपत्र, मुद्दा, संघ संस्था तथा हतियार, विपद तथा अन्य विषयमा जानकारी गराएका थिए । असोज १०–१२ मा भएको विपद र त्यस पछिको क्षतिका बारेमा जानकारी गराउँदै विपदको आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

जिल्ला न्यायाधिवत्ता कृष्णा भण्डारीले जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि नागरिकता सम्वन्धी विषयमा अभिमुखिकरण गराएकी थिईन् । नागरिकताका प्रकार, नागरिकता सम्वन्धी मौजुदा कानूनका विषयमा जानकारी गराएकी थिईन् । नागरिकता प्रदान गर्दा हुने गरेका विभिन्न प्रकृया र समस्या अनि मुद्दाका सन्र्दभमा जानकारी गराउँदै जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले कानुनत भएका ब्यवस्था र नागरिकता लिने तथा दिने दुबैलाई हुने सजायँ र ब्यवस्थाका बारेमा जानकारी गराएकी थिईन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख एसपी कोमल शाहले साईबर अपराध, लागु औषध तथा अन्य अपराध र विभिन्न अपराधिक कृयाकलापका बारेमा जानकारी गराएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी सुर्दशन श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले जिल्लामा भएका गतिविधि र नागरिकका सेवाका बारेमा धारणा राखेका थिए । नयाँ नागरिकता ९ हजार २ सय ५९, प्रतिलिपि ९ हजार ८ सय ४५ जनालाई जारी भएको छ भने ७१ जनाले परित्याग गरेका छन् । ६७ जनालाई गैह् आवासिय नागरिकता प्रदान गरिएको छ । १० वटा नागरिकता रद्ध र २ थान नागरिकता अंगिकृत प्रदान गरिएको छ ।