बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली अलपत्र छाडेर होडिङ बोर्डको खोजी
काभ्रेपलाञ्चोकको धुलिखेलबाट दायाँतर्फ विपी राजमार्ग सुरु हुन्छ । राजमार्गको छेउमा बायाँतर्फ आकस्मिक सूचना प्रणाली (ईआइएस) बोर्ड राखिएको छ । तर यतिबेला सूचना डिस्प्ले गर्ने बोर्ड भने घाँस उम्रिएर छोपिएको छ । अर्थात सुचना दिने संरचना आफैं हराएको छ । राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तत्कालको अवस्थाबारे जानकारी दिने उद्देश्यले निर्माण गरिएको संरचना १० वर्षदेखि प्रयोगविहिन भएको हो ।
गत असोजको बाढी पहिरोले राजमार्ग क्षतविक्षत छ । मनसुन सुरु भएसँगै राजमार्गको यात्रा थप कस्टकर बनेको छ । समान्य वर्षामै पनि राजमार्ग अवरुद्ध हुने गरेको छ । रातको समयमा सवारी साधन सञ्चालनमा रोक नै लगाइएको छ । यस्ता सुचना फेसबुक पेज मार्फत प्रवाह हुने गरेको छ । तर आकस्मिक सूचना प्रणाली बारे जिल्ला विपद व्यवस्थापन समिति बेखबर छ । भएका संरचना सञ्चलनको पहल गर्नुको सट्टा नयाँ सुचना संयन्त्रको खोजी सुरु भएको छ ।
अहिले राजमार्गको अवस्थाबारे दैनिक ३ सय भन्दा बढीले १०३ मा फोन गरेर जिज्ञासा राख्ने गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
डिभिजन सडक कार्यालय भक्तपुर र जिल्ला ट्राफिक कार्यालय काभ्रे मिलेर सुचनामुलक होडिङ बोर्ड राख्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताएका छन् । उनले महत्वपूर्ण संरचनालाई सञ्चालन गर्ने भन्दा फेसबुकबाट सुचना प्रवाह हुने भन्दै फेसबुक हेर्न आग्रह गरेका छन् ।
सघीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रूपमा रहेको विपी राजमार्गमा आकस्मिक सूचना प्रणाली (ईआइएस) बोर्डमा दश वर्षदेखि आवश्यक सूचना अद्यावधिक गरिएको छैन । अरनिको र विपी राजमार्ग दुबैमा उक्त प्रणाली जडान गरिएको भए पनि संचालन नभएको हो ।
उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ । सूचना डिस्प्ले गर्ने बोर्ड घाँस उम्रिएर छोपिएको छ । सडक सूचना प्रणालीमा सूचना उपलब्ध नहुँदा नागरिकहरु भने हैरानीमा पर्ने गरेका छन् ।
विपी राजमार्ग लक्षित काठमाडौँबाट अरनिको राजमार्गको कोटेश्वर, धुलिखेल, सिन्धुलीको बर्दिबास लगायतका चार स्थानमा सूचना बोर्ड राखिएको छ । यस प्रणाली अन्तर्गत पाँचवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तर रूपमा बर्षातको मापन गरेर सडक विभाग स्थित डाटा सेन्टरमा सूचना पठाउँछ । सो प्रणाली अन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरणहरू जिपिआरएस मोडेममार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरणहरू एलइडी डिस्प्लेयुक्त बोर्डहरूमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबिसै घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति ९सोलार० मार्फत विद्युत् आपूर्ति हुने व्यवस्था समेत मिलाइएको थियो । काठमाडौँ थापाथली स्थित उप–आयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालयहरू र सिन्धुलीमा समेत रहने व्यवस्था आयोजनाले गरेको थियो ।
‘इआइएस मर्मत र सञ्चालन निकै चुनौतीपूर्ण भएकाले जनशक्ति र आवश्यक बजेट नहुँदा सञ्चालन गर्न नसकिएको आयोजनाको दाबी छ ।
विभागले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्राणालीको विकास गरेको तर केही समय पश्चात् उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको जनाउँदै आएको छ । राजमार्गमा वर्षा, बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेबसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो । यही जानकारी राजमार्गको वेबसाइट तथा कोटेश्वर, धुलिखेल, खुर्कोट, सिन्धुली र बर्दिबासमा रहेको डिजिटल सूचना बोर्डमा समेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो ।
एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेसनसहित वेबसाइट र इआइएसलाई इन्जिनियररिङ सफ्टवेयर कम्पनीले ‘प्रणाली’समेत तयार पारिसकेको थियो । धुलिखेलबाट विक्रम सम्वत २०५४ देखि बनेपा–सिन्धुली बर्दिबास निर्माण शुरु गरिउको थियो । उक्त सडकको लम्बाई १ सय ६० किलोमिटर छ ।






