नदी किनारको बस्ती: मानवीय आकर्षण र बिपद्को बितण्डा
होम प्रसाद चौंलागाँईं
प्रकृति र मानव जाती एकआपसका परिपूरक हुन् । प्रकृतिसंग मानव जातीको अकाट्य सम्वन्ध रहने गर्दछ । हावाहुरी, भूकम्प जस्तै पहिरो र बाढीसँंगको मानवीय नाता पनि उस्तै रहँदै आएको छ । खोला वा नदीको वरिपरि खेतीपाती, पशुपालन, उद्योगधन्दा, व्यापार व्यवसाय आदि गर्न सजिलो हुने भएकोले पनि मानिसहरूको बस्ती खोला वा नदीका किनारमा हुन्छ । त्यतिमात्र नभएर पछिल्लो समय सायद दूरीको हिसाबले छोटो पर्ने निर्माण सामग्री उपलब्धताको हिसालबले सहजता हुने भएर होला मानिसहरु नदी किनारमा अकर्षित हुने क्रम हुँदहुँदैपनि आजकाल त्रासदीहरु पनि वढ्न थालेको छ । भारत र चीनको फलानो ठाउँमा भिषण वर्षा भैरहेको छ नेपालका फलाना फलाना नदि किनारका बस्तीहरुमा सजग रहन अनुरोध सहितको सूचनाहरु आउने गर्दछ । यसले नदी किनारका बस्तीहरुलाई पीडादायी बनाउन थालेको छ ।
२०७१ साल साउन १७ गते अन्तर्राष्ट्रिय क्षेत्रमै हलचल मच्चाउने गरी जुरे पहिरो निम्तिएको दिन । पाँच गाउँ सुनकोसी नदीमा बिलय गराउँदै एक सय ४५ जनाको एकै चिहान बनाउने भीमकाय जुरे पहिरोको शुक्रबार पाँच वर्ष पूरा भएको छ । बर्खामा उर्लिएको सुनकोसी नदी लगातार ११ घण्टासम्म टम्म थुनेर विशाल कृत्रिम ताल बनाएको पहिरोले अन्तर्राष्ट्रिय समुदायकै ध्यान खिचेको थियो । दिन, महिना र वर्ष बित्दै जाँदा ‘संसारमै बिरलै घट्ने’ जुरे पहिरो घटना बिर्सिइँदै गएको छ । तातोपानी नाकामा आएको वाढीले कोदारी राजमार्ग अझै सुचारु हुन सकेको छैन ।
२०७८ असार २ गते, निरन्तर परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको थियो । बाढीका कारण धेरैको हताहती, बेपत र मृत्यु हुन पुगेको थियो । बाढीका कारण मेलम्ची खानेपानी आयोजना डुबानमा परेको थियो भने यसमा कार्यरत कर्मचारीहरू घाइते समेत भएका थिए । यसले उक्त क्षेत्रको घर वस्ती, पुल, सडक र खेतीयोग्य जमिन पनि बगाएको थियो । प्रभावित क्षेत्रमा बिजुली बत्ती पनि गएको र सञ्चारको साधनले पनि काम नगरेको बताइएको थियो । बाढीको प्रकृति पहिलोको भन्दा फरक भएको र यसले लेदो समेत बगाएर ल्याएको थियो । बाढी आउनु भन्दा अगाडि दिइने पूर्व सूचना प्रणालीले काम नगरेता पनि उक्त क्षेत्रका बासिन्दा बाढी सहर पस्नु अगावै निस्कन सफल भएका थिए । मेलम्चीको बाढीले विद्यालयको भवन बगाएको थियो ।
गत असोज ११ र १२ गतेको भीषण वर्षाको सबैभन्दा बढी प्रभाव काठमाडौं उपत्यका पछि काभ्रे, सिन्धुली र रामेछाप, ओखलढुंगा लगातयतका जिल्लालाई प¥यो । हुन त धादिङमा गुडिरहेका यातायात साधन पुरिँदा ठुलो मानवीय क्षति भयो । भूगोल र जनसङ्ख्याको हिसाबले वाग्मती, सुनकोशी र रोशी नदी कोरिडोरमा ठुलो क्षति भयो । रोशी र सुनकोशीको प्रभाव त्यसका तटीय क्षेत्रमा निक्कै ठुलो र्पयो । खास गरी रोशी खोल किनारमा अव्यवस्थित रूपले राखिएका क्रसर र ती क्रसरले गरेको अत्यधिक प्रकृतिको दोहनको कारण सो क्षेत्रमा ठुलो क्षति भयो ।
रोशी खोला किनारमा थुपारिएका क्रसरबाट निस्किएको माटोको ढिस्का बगाउँदा त्यसको प्रभाव रोशीमा मात्र सीमित रहेन त्यसको प्रभाव सुनकोशी नदीसम्म पनि पुग्यो । रोशीमा ४० वर्ष यताकै ठुलो बाढी आयो । त्यो बाढीमा क्रसरले निकालेर थुपारिएका माटोका पहाड मिसिँदा रोशीले उब्जाउ हुने फाँटहरू मरुभूमि बनायो । रोशी कोशी भन्दा पनि बढी उर्लियो ।उर्लिएको रोशीले बीपी राजमार्गलाई छियाछिया बनायो । तटीय क्षेत्रका बस्तीहरू उखेलेर लग्यो । दुम्जाको कुशेश्वर महादेव मन्दिर क्षेत्रमा अकल्पनीय क्षति पु¥यायो ।
त्यसै गरी गत आइतबार लेन्दी खोलामा आएको बाढीले तीनवटा सवारीसाधन बगाएको छ । रसुवागढी नाकानजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको टिपर, जेसिबी र लोडर बगाएको हो। आइतबार बिहान ३ बजेतिर आएको बाढीले कामदार बस्ने घरको पछाडिको भागसमेत क्षति गरेपछि तत्कालै कामदारलाई सुरक्षित स्थानमा सारिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २१, राजस्व भन्सार गस्ती सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाको नेतृत्वमा खटिएको ४५ सदस्यीय टोलीले ११ जना कामदारलाई तत्कालै सुरक्षित स्थानमा सारिएको थियो । साथै त्यहाँ रहेका अन्य ६ वटा सवारी साधनलाई पनि सुरक्षित स्थानमा सारिएको छ । बन्दरगाह निर्माणस्थलमा रहेका ३ वटा लोडर, २ वटा जेसिबी र एउटा मिक्चर सुरक्षित स्थानमा सारिएको हो ।
सडक किनारहरुमा मानिसहरुको राम्रै गुजारा चलेको हुन्छ । कुनै कारणले अधिक वर्षा भयो, नदी थुनियो, जलविद्युतका लागि बनाइएका बाँधहरू फुटे भने खोला वा नदी किनारका बस्तीहरूमा बाढी पस्ने डरले रातबिरात भागाभाग गर्नुपर्छ । सामान्य अवस्थामा बाढी अधिक वर्षाको कारणले हुने गर्छ । यसलाई थेग्न नसकेर खोला वा नदीनालाको मूलप्रवाहबाट पानी बाहिरिन्छ र बाढीको रूपमा मानवीय बस्तीमा पस्दै ठूलो जनधनको क्षति गर्छ । बाढी पसिसकेको जमिनमा ढुङ्गा, बालुवा अधिक हुने हुँदा जमिन बगरमा परिणत हुन्छ र पुनः प्रयोगमा ल्याउन निकै कठिन हुन्छ । बाढीको आकार आकाशबाट परेको पानीको मात्रा, समयावधि र पानी जम्मा हुने जमिनको अवस्था आदिमा भर पर्छ । खाली र रूखबिरुवा भएको जमिनमा पानी जम्मा हुने प्रकृति फरक हुन्छ । बाढी विशेषगरी खोलानालाको वेडभन्दा होचो जमिनमा हुने गर्छ । नेपालको सन्दर्भमा तराईका कतिपय बस्तीहरू खोला वा नदीको वेडभन्दा मुनि छन् र वर्षेनि डुबानमा पर्छन् । छिमेकी देश भारत र चीनमा पनि यो समस्या छ । जापानको ५१ प्रतिशत बस्ती नदी वा खोलाको वेडभन्दा मुनि छन् । खोला वा नदीमा बग्ने माटो, बालुवा, ढुंगा आदिको कारणले वरपरका जमिनभन्दा खोला वा नदीको वेड अग्लो हुँदै जाने प्रक्रियाले पनि अधिक पानीको मात्रालाई नदीले थेग्न सक्दैन र सतहमा आउँछ ।
चीनको एल्लो नदी र उत्तरी अमेरिकाको मिसिसिपी नदीका वेडहरू वरपरको जमिनभन्दा अग्ला भइसकेका छन् । त्यहाँ वर्षेनि वरपरको जमिनमा बाढी पस्ने गर्छ । बाढीको लागि नदी वा खोलाको वेडभन्दा मुनि बसोबास गर्ने देश सधैंका लागि समस्यामा पर्छन् । नेदरल्यान्ड यसको उदाहरण हो । नेदरल्यान्डमा गाउँबस्ती छेउ ठूलठूला बाँधहरू बाँधेर बाढीबाट जोगाउने काम गरिएको छ । बाढीबाट बच्नका लागि समुद्र नजिक भएका देशले भूकम्पको समयमा समुद्रमा हुनसक्ने सम्भावित छाललाई हेरेर पर्खालहरू बनाउनुपर्छ । पछिल्लो समय सन् २०११ को सुनामीमा जापानको अवस्था नाजुक देखियो । समुद्र आसपासको जमिनमा पनि सुनामीको कारणले निकै ठूलो बाढी गइरहेको हुन्छ । सन् २००४ मा इन्डियन ओसनमा गएको विनाशकारी सुनामीले २ लाख ५० हजार इन्डोनिसया, श्रीलंका, थाइल्यान्ड आदि देशका मानिसहरू हताहत भए । यस्तै अवस्था सन् २०११ को जापानको सुनामीमा पनि भयो । जापानको फुकुओका भन्ने ठाउँमा त आणविक भट्टी नै क्षतिग्रस्त बन्न पुग्यो । बाढी आउनका लागि कुनै स्थान विशेषमा गाग्रो खन्याए जस्तैगरी अधिक वर्षा हुने गर्छ । हावा बहने दिशामा पर्ने हिमाल वा पहाडको मुनि यस किसिमको वर्षा हुने गर्छ । नेपाल भूखण्डमा वर्षायाममा पर्ने ९३ प्रतिशत पानीमा त्यसको ३७ प्रतिशत १ दिनमा परेको तथ्याङ्क छ । बाढी विभिन्न कारणले हुनसक्छ । हिमतालहरूमा पहिरो जानाले, चट्टान मक्किएर खस्नाले वा भूकम्प आदि कारणले हिउँको ठूलो हिस्सा बगेर तल रहेका बस्तीहरूसम्म आइपुग्दा बाढी बनेर ठूलो क्षति हुनसक्छ । सन् २०१२ मा पोखराको सेती नदीमा अन्नपूर्ण हिमालबाट आएको बाढी यसकै उदाहरण हो ।
अधिक वर्षा, भूकम्प आदिको कारणले प्राकृत अप्राकृत दुवै खाले बाँधहरू फुट्दा बाँध मुनिका गाउँबस्तीहरूमा बाढी आउन सक्छ । बाढीको कारणले तराईको खेतीयोग्य भूभागको ठूलो हिस्सा वर्षेनि बगर बनिरहेको हुन्छ । यसो हुनुको पछाडि खोला वा नदीनाला हिमाल वा पहाडबाट बग्दै तराईसम्म आइपुग्दा यसको गति कम हुन्छ । तर यसले ओगट्ने ठाउँ ज्यादा हुन जान्छ । कम गति भएकै कारणले खोला वा नदीनालाले बगाएर ल्याएको बालुवाका कणहरू, गोलाकार चट्टानहरू ठाउँठाउँमा थुप्रिँदै जान्छ र डेब्रिस फ्यान बन्छ । यसले गर्दा खोला वा नदीनालाले अर्को बाटो रोज्छ । पहाडमा भूक्षय र पहिरो रोक्नसके तराईमा डेब्रिस फ्यान बन्ने थिएनन् र तराईका हजारौ बिघा जमिन बगर बन्नबाट जोगिने थिए । खोला वा नदीलाई आफ्नो बाटोमा बग्नका लागि चाहिने पर्याप्त संरचना बनाउन नसकेकै कारणले यस्तो अवस्था हुनगएको हो । निर्माण सामग्रीको रूपमा सोही डेब्रिस उठाउन सकिएको खण्डमा खोला वा नदी पुरानै बाटोमा फर्किन्छन् र एकै ठाउँबाट साँघुरिएर बग्छन् । डेब्रिस फ्यान बन्ने यस किसिमको अवस्था रोक्नका लागि पहाड वा हिमाल जहाँबाट पानीको प्रवाह सुरु हुन्छ, त्यही ठाउँबाट नै व्यवस्थापन सुरु गर्नुपर्छ ।
रूखबिरुवा नभएको जमिनबाट भूक्षय र पहिरो जाने कारणले पनि यो पहिरोको मटेरियल वर्षाको पानीले बगाउँदै तराईको भूभागसम्म ल्याउँछ । पहिरो नचलेको अवस्थामा अधिक पानी हुँदैमा ठूलो क्षति भइहाल्दैन र खोलानाला नदीको बग्ने बाटोमा अवरोध पनि आउँदैन । भूक्षय, पहिरो आदिको कारणले २४० मिलियन घनमिटर माटो हरेक वर्ष नेपाल भूखण्डबाट बगेर जाने गर्छ । हरेक वर्ष बाटोबाट मात्रै ३०००९००० घनमिटर प्रतिकिलोमिटर माटो पहिरोको रूपमा खेर गएको छ । यो तथ्याङ्क भूकम्प अघिको हो । भूकम्पपछिका दिनमा यो तथ्याङ्क दोब्बरभन्दा बढी हुने आँकलन गरिएको छ । बाढी चल्नुको मुख्य कारणमा रूखबिरुवा आदिको उपस्थिति न्युन रहनु वा नहुनु हो । रूखबिरुवाले अधिक वर्षालाई समेत थेग्न सक्ने क्षमता राखेको हुन्छ । नाङ्गो डाँडामा भूक्षय हुँदै पहिरो जाँदै गर्दा बाढीको विकराल रूप तयार हुन जान्छ । रूखबिरुवाको उपस्थितिले पहिरोको वस्तु स्थान विशेषमा रोक्न सक्छ । सतहमा रूखपातको छाता वा कार्पेटजस्तै तयार भएर पानीको थोपाले सिधै माटोको कणहरू छुट्याउन सक्दैन ।
रूखका जरा माटोको तह हुँदै चट्टानको तहसम्म छिर्दा माटोको पायलजस्तै तयार हुने र रूखरूख बीचको भागमा घुमाउरोगरी आर्च आकारमा माटोको तह एक ढिक्का हुनपुग्छ । सँगसँगै रूखका जराहरूले अधिक पानी सोस्ने र जरा भएकै ठाउँमा सतहमुनिको पानीलाई सुरक्षित बग्न मद्दत गर्छ । सतही र सतहमुनिको पानीलाई सुरक्षित बगाउन मद्दत गर्ने भएकै कारणले रूखबिरुवा सहितको समाधान उपयुक्त हन्छ । बायोइन्जिनियरिङ प्रविधि अन्तर्गत रूखबिरुवा सहितको ससाना सिभिल संरचनाहरू, जिओसेन्थेटिक मेटेरियल आदिको समाधान खोजिन्छ, जुन भूक्षय, पहिरो र बाढी रोक्न सस्तो, राम्रो र भरपर्दो विकल्प हुनसक्छ । बाढी चल्नुको अर्को कारणमा हामीले बनाएका नहर आदि संरचनाहरू वर्षामा बगाएको माटो, बालुवा आदिले पुरिँदै जाने हुँदा पानीको मात्रा सबैतिर समान वितरण हुनसक्दैन ।
अर्को कारणमा ती संरचनाहरू हिउँद महिनामा मर्मतसम्भार गर्नपर्नेनपर्ने यकिन नगर्दा पनि बाढीको प्रकोप झेल्नुपर्छ । यसको अर्को कारणमा खोला वा नदीका स्रोतमा पर्ने भूभागमा भएको अस्तव्यस्त बसाइले भूक्षय, पहिरो चल्छन् । यस प्रकार के कारणले बाढीको समस्या झेल्नु पर्ने गरेको छ । स्थान विशेषमा त्यसको पहिचान गरेर उपयुक्त समाधानको खोजी गर्नतर्फ लागेमा बाढी महाविपत्ति बनेर आउने छैन र हाम्रा गाउँबस्ती, सहरहरू जोगिनेछन् । भूक्षय कसरी रोक्ने, पहिरो कसरी रोक्ने, नदीलाई कसरी आफ्नो बाटोमा हिँडाउने वा सीमित गर्ने, नदीले ल्याएको डेब्रिसलाई कसरी तह लगाउने, नदी बचाउनका लागि बनाइएका संरचनाहरूको मर्मतसम्भार कसरी गर्ने, मानवनिर्मित वा प्राकृत रूपमा बनेका बाँधहरूको के कसरी सुरक्षित राख्ने, पहिरोको कारणले नदी थुनिएर बन्ने कृत्रिम बाँधलाई के कसरी सुरक्षित खोल्ने, डिजायन अवधि सकिएका हाइड्रोपावर संरचना के कसरी सुरक्षित बदल्ने, डुबानमा परिरहने गाउँबस्तीलाई के कसरी जोगाउने आदि सम्बन्धमा ध्यान दिनसकेमा बाढी महाविपत्तिको रूपमा आउने छैन । अन्यथा बाढी विगतको जस्तै नियमित प्रक्रिया मात्र नबनेर जुरे, भोटेकोसी, मेलम्ची, रोशी र त्रिशुली मात्र नभई हाम्रा गाउँबस्ती, सहर तहसनहस हुनेछन् ।






