काभ्रेमा स्वास्थ्य बीमाका ५ प्रथम सेवा बिन्दु, धुलिखेल अस्पतालमा रेफरल सिट अनिवार्य

by | असार २७, २०८२

काभ्रेमा स्वास्थ्य बीमाका ५ प्रथम सेवा बिन्दु, धुलिखेल अस्पतालमा रेफरल सिट अनिवार्य

काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य बीमा सेवाका लागि ५ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु तोकिएको छ । नमोवुद्ध र धुलिखेल नगरपालिकामा एक/एक वटा तथा पनौती नगरपालिकामा रहेका ३ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु तोकिएको हो । स्वास्थ्य बीमा बोर्डले नमोवुद्ध नगरपालिका स्थित भकुण्डेवेशीमा रहेको मेथिनकोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र, पनौती प्राथमिक स्वास्थ्य केन्द्र र सुन्धान प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दुको रुपमा अनुमति दिएको छ ।

२०७६ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको धुलिखेल अस्पताल भने प्रथम सेवा बिन्दुबाट हटेको छ । धुलिखेल अस्पतालमा साउन १ गतेबाट आकस्मिक स्वास्थ्य सेवा बाहेकका सेवाका लागि प्रेषण पुर्जी (रेफरल सिट) अनिवार्य गरिएको छ । आफ्नो नजिकको निर्धारित सरकारी स्वास्थ्य केन्द्रबाट अनिवार्य रुपमा रेफरल सिट लिएर मात्र धुलिखेल अस्पतालमा सेवा लिन सकिनेछ । एकपटक लिएको पुर्जी त्यसपटकको स्वास्थ्य समस्याका लागि मात्र प्रयोग गरिनेछ ।

दीर्घरोगीहरु सबैखाले क्यान्सर, मिर्गौला प्रत्यारोपित व्यक्ति फलोअप एवं डायलासिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल निमोनिया, अल्जाइमर, पार्किन्सोनिज्म, मुटु रोगी, ७० वर्षमाथीका ज्येष्ठ नागरिक, अतिअपाङग, एचआइभी, बहुऔषधी प्रतिरोधात्मक क्षयरोगी, गर्भवती तथा सुत्केरी, कडा खालका मानसिक रोगीका हकमा भने प्रेषण विन्दुबाट एकपटक रेफरल लिएपछि उपचार तथा फलोअपको क्रममा प्रत्येकपटक पुर्जी आवश्यक नपर्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

काभ्रेमा हाल १ लाख ९८ हजार ६ सय ६१ जना स्वास्थ्य बीमामा आवद्ध छन् ।