लालपुर्जा बाँड्न प्रधानमन्त्री ओली झापामा
प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार गृह जिल्ला झापा पुगेका छन्। दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उनी झापा पुगेका हुन्।
आज बिहान ११ बजे उनलाई चन्द्रगढी विमानस्थलमा एमालेका कोसी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गरे।
प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका(३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन तथा कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने कार्यक्रम छ।
असार २९ गते दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन र बिर्तामोडको सिटीसेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने कार्यक्रम रहेको गिरीले जानकारी दिए। रासस






