पुण्य मावीमा पुर्व शिक्षक, विद्यार्थी र सहयोगी सम्मानित

पनौती/पुण्य मावी पनौतीले पुर्व शिक्षक तथा एसईई उर्तिण विद्यार्थी र सहयोगी संघ संस्था तथा दाताहरुलाई सम्मान गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले सम्मानित ब्यक्तिहरुलाई दोसल्ला, प्रमाणपत्र प्रदान गरेका थिए ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जयराम मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरस्वती कँडेलले विद्यालयले प्रदान गरेको शिक्षा, ऐतिहासिक पृष्ठभूमी, अवस्था र आगामी योजनाका बारेमा जानकारी गराउँदै विद्यालयलाई २०७६ साल बैशाख देखि २०८२ सम्म कार्यरत पुर्व शिक्षक तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको योगदानका बारेमा जानकारी गराएकी थिईन् ।

२०२६ साल जेष्ठ १ गते स्थापना भएको उक्त विद्यालयले एसईई २०८१ मा ९६.२९ प्रतिशत विद्यार्थी उर्तिण गराएको प्रधानाध्यापक कँडेलले बताईन् । पुर्वाधार सम्पन्न हुँदै गए पनि प्रविधिमैत्री शिक्षाका लागि विद्यालयले प्रदान गर्ने शिक्षाका लागि आवश्यक ब्यवस्थापन र बजेटको अभाव भएको उनले बताईन् ।

कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले पनौती नगर क्षेत्रका सामुदायीक विद्यालयहरुले शिक्षाको गुणस्तर सुधारेको बताए । एसईईको परिणामले गुणस्तर सुर्धेको देखिए पनि सन्तुष्ट हुने अवस्था नरहेकाले आगामी वर्षहरुमा अझै गुणस्तर शिक्षाका लागि पहलकदमी र सक्रियताका साथ लाग्न अनुरोध गरे । कार्यक्रममा उपप्रमुख गिता बञ्जाराले सामुदायिक विद्यालयहरुमा अभिभावकहरुको विश्वास र सक्रियता जरुरी रहेको बताईन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सहायक प्रधानाध्यापक रुपा थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, कर्मचारीहरु, अभिभावक र शिक्षकहरुको सहभागिता रहेको थियो ।