सिद्धाश्रम शक्ति केन्द्र, सुकुटेमा १७ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

सुकुटे, सिन्धुपाल्चोक /  सिद्धाश्रम शक्ति केन्द्र, सुकुटे आरती संचालन केन्द्रको १७औं वार्षिकोत्सव शनिबार भव्य एवं दिव्य रूपमा सम्पन्न भएको छ। आध्यात्मिक चेतनाको विस्तार तथा सामाजिक योगदानको सम्मानस्वरूप विविध कार्यक्रमहरूसहित यो विशेष अवसर मनाइएको हो।
कार्यक्रम बिहान १० बजे गुरुपूजन, मन्त्रजप, मन्त्रहवन तथा आरतीबाट औपचारिक रूपमा सुरु भएको थियो। संस्थातर्फबाट स्वागत मन्तव्य साधक श्री मधु बहादुर कार्कीले दिनुभएको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा सिद्धाश्रम शक्ति केन्द्र नेपालका संयोजक श्री बिन्देश्वरी बराल, र विशिष्ट अतिथिका रूपमा चौतारा साँगाचोकगढी नगरपालिका–१० का वडा अध्यक्ष श्री निलबहादुर तामाङ उपस्थित हुनुहुन्थ्यो।
विशेष अतिथि श्री बिन्देश्वरी बरालले आफ्नो मन्तव्यमा हाल विश्वभरि डर र भयको वातावरणले मानव समाजलाई आक्रान्त बनाइरहेको अवस्थालाई उल्लेख गर्दै, “यस्ता परिस्थितिमा अध्यात्मिक प्रयासले समाजलाई सही मार्गदर्शन प्रदान गर्न सक्छ,” भन्ने विचार व्यक्त गर्नुभयो। उहाँले सिद्धाश्रम शक्ति केन्द्रले समाज रूपान्तरणमा निभाउँदै आएको भूमिकाको उच्च प्रशंसा गर्दै, राष्ट्रमा स्थायी शान्तिको लागि राष्ट्र गुरु श्री श्री महायोगी गुरु गोरखनाथलाई स्मरण गर्दै उहाँलाई प्रसन्न पार्नु आवश्यक रहेको कुरामा विशेष जोड दिनुभयो।
वडाध्यक्ष श्री तामाङले मन्तव्य दिँदै आफ्नै जीवनशैली पनि प्रारम्भदेखि नै आध्यात्मिक रहेको उल्लेख गर्दै, सिद्धाश्रम शक्ति केन्द्रले आफूलाई आध्यात्मिक मार्गमा लाग्न प्रेरणा दिएको अनुभव साझा गर्नुभयो। उहाँले सनातन धर्मको संरक्षण र प्रवर्द्धनमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै, “म जनप्रतिनिधि रहे पनि नरहे पनि यो संस्थाको विकास र उन्नतिमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्दछु,” भन्नुभयो।
कार्यक्रमको अवसरमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका प्रतिष्ठित व्यक्तित्वहरू तथा संस्थाहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूमा समाजसेवी श्री पुरुषोत्तम कार्की क्षेत्री, केशर बहादुर खड्का, प्रकृति संरक्षण अभियन्ता श्री मेघ आले, नेतृ श्री मन्दु खड्का, अभियन्ता श्री शम्शेर कार्की, रमेश कुमार खड्का, यम बहादुर महत, लायन्स क्लब अफ काठमाडौं सिटी चौतारा सिटी, महिला मैत्री विकास समाज तथा दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायत थिए।
पतञ्जलि योग समिती सिन्धुपाल्चोकका अध्यक्षज्यूले मन्तव्य दिँदै योग र अध्यात्मिकताको सहकार्यमा समाज रूपान्तरणको सम्भावनाबारे जोड दिनुका साथै संस्थाको कार्यमा भावी दिनमा पनि साथ रहने शुभकामना दिनुभयो।
कार्यक्रममा विभिन्न संघसंस्था, भक्तजन, साधक-साधिकाहरूको उल्लेखनीय सहभागिता रहनुका साथै आध्यात्मिक वातावरण अझ सजीव देखिएको थियो।
कार्यक्रम सञ्चालन संस्थाका नेतृत्वकर्ता उमेश के. शि.ले गर्नु भएको थियो। संचालनको क्रममा उहाँले अध्यात्म नै मानव समुदायलाई एकतामा बाँध्ने सबैभन्दा बलियो कडी भएको बताउँदै समाजलाई दिगो र प्रगतिशील बनाउन जीवनको सुरुवातदेखि नै अध्यात्मको मार्गमा लाग्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँको यो सन्देशले कार्यक्रममा गहिरो प्रभाव पारेको थियो।
उपस्थित वक्ताहरूले पनि अध्यात्मले वर्तमान भौतिक समाजमा शान्ति, समृद्धि र लोककल्याणकारी भावना जागृत गर्न सक्ने विश्वास व्यक्त गर्दै सिद्धाश्रम शक्ति केन्द्रले विगत १७ वर्षदेखि गर्दै आएको निरन्तर योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रमको समापन अपराह्न ३ बजे सम्पन्न भएको थियो।