संघीय सरकारको कोषमा काभ्रेपलाञ्चोकबाट ३ अर्ब ९२ करोड ६४ लाख राजश्व संकलन

धुलिखेल/चालु आर्थिक वर्ष सकिन तीन दिन बाँकी हूँदा राजश्व संकलन र खर्च हुने क्रम तिब्र भईरहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा संघीय सरकारका लागि चालु वर्षको असार २८ गतेसम्म ३ अर्ब ९२ करोड ६४ लाख २७ हजार २ सय ३७ रुपैया राजश्व संकलन भएको छ । असार महिनामा मात्रै ५८ करोड ४९ लाख ४१ हजार ६३ रुपैया संकलन भएको छ । जेष्ठ मसान्तसम्म ३ अर्ब ३४ करोड १४ लाख ८६ हजार १ सय ७४ रुपैया संकलन भएको थियो ।

जिल्लामा सबै भन्दा धेरै आन्तरिक राजश्व कार्यालय धुलिखेलमा कर संकलन भएको छ । अघिल्लो महिनासम्म ३ अर्ब १५ करोड ३२ लाख ५९ हजार २ सय ३ रुपैया संकलन गरेको उक्त कार्यालयले असार महिनाको २८ गतेसम्म ३ अर्ब ७२ करोड ४९ लाख १६ हजार ३ सय ४ रुपैया संकलन गरेको छ । असार महिनामा मात्रै ५७ करोड १६ लाख ५७ हजार १ सय १ रुपैया संकलन गरेको छ । बाँकी तीन दिनमा लक्ष्य अनुसारको राजश्व संकलन हुने अपेक्षा कार्यालयले गरेको छ ।

जिल्लामा सबै भन्दा कम सुर्यविनायक धुलिखेल, धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाले कम राजश्व बुझाएको छ । यो कार्यालय आर्थिक वर्षको शुरुवाती समयमा नै स्थानान्तरण भएको थियो । उक्त कार्यालयले ६२ सय ६० रुपैया बुझाएको छ ।

मालपोत कार्यालय काभ्रेपलाञ्चोकले १९ लाख ४ हजार ३ सय २ रुपैया संकलन गरेको छ । उसको राजश्व प्रदेश सरकारलाई जान्छ । यो संघीय सरकारको कोषमा जम्मा भएको रकम मात्रै हो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ८ करोड ४२ लाख २४ हजार ८ सय ६७ रुपैया राजश्व संंकलन गरेको छ । संघ सरकारलाई जिल्लामा रहेका २२ वटा कार्यालयले राजश्व बुझाउँछन ।