सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या
सांकेतिक तस्बीर
काठमाडौं / सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा आइतबार मध्यरातमा एक किशोरीको गोली हानी हत्या गरिएको छ । हरिनगर-६, घुस्कीस्थित आफ्नै घरमा सुतिरहेकी १८ वर्षीया अर्सी खातुनको हत्या भएको हो ।
हत्यामा उनकै भिनाजु संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत-१६, घुर्ना निवासी २९ वर्षीय आजात मिया जटले खातुनको टाउकोमा गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर चोट लागेकी खातुनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले घटनास्थलबाट गोलीको एउटा खोका बरामद गरेको छ । ‘घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो,’ एसपी तिम्सिनाले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा मृतकका भिनाजुले नै गोली हानेको देखिन्छ ।’
घटनालगत्तै अभियुक्त मिया भारततर्फ फरार भएको प्रहरीको आशंका छ । घटनास्थल नेपाल-भारत सीमा नजिकै पर्ने भएकाले उनलाई भाग्न सहज भएको हुन सक्ने प्रहरीको अनुमान छ । फरार मियाको खोजीका लागि भारतीय प्रहरीसँग समन्वय गर्ने तयारी भइरहेको एसपी तिम्सिनाले जानकारी दिए ।
हत्याको कारण भने अझै रहस्यमय छ । एसपी तिम्सिनाले भने, ‘हत्याको उद्देश्य के थियो भन्ने खुलिसकेको छैन, हामी अनुसन्धानकै क्रममा छौँ ।’






