काभ्रेपलाञ्चोक जिल्लामा प्रकोपको इतिहास, १६ वर्षमा विपत्तिबाट एक हजार भन्दा धेरैले ज्यान गुमाए
धुलिखेल/जिल्ला विपद ब्यवस्थापन समिति काभ्रेपलाञ्चोकले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरी कार्यान्वन शुरु गरेको छ । समितिले २०८२ जेठ १२ गतेको बैठकबाट प्रतिकार्य योजना स्वीकृत गरेको जनाएको छ । २०६८ साल देखि २०८२ असार महिनासम्म विपत्तिमा परी जिल्लामा एक हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लामा प्रकोपको महामारी २०६४ सालमा शुरु भएको जिल्ला विपद ब्यवस्थापन समितिले निश्कर्ष निकालेको छ । २०६४ सालमा कृषिबाली रोग ढुंखर्क गाविसका सम्पूर्ण क्षेत्रमा मकैबाली नष्ट भएको थियो । मकैबाली पूर्ण रुपमा क्षति भएको थियो । २०६५ र २०७० मा कृषि रोग देखा प¥यो । पाँचखाल क्षेत्रमा दुबै वर्षमा धानबालीमा रोग फैलिएको थियो । खडेरीका कारण भकुण्डेवेशी क्षेत्रमा २०६६ सालमा १० हजार रोपनी क्षेत्रफलमा रोपाई नै हुन सकेन । २०६७ सालमा झाडापखालाको प्रकोप फैलियो । डाँडापारी क्षेत्र, डराउनेपोखरी गाविस लगायतमा महामारी हुन पुग्यो । २०६७ सालमा नै टुकुचा नाला गाविसमा पशुमा भ्यागुते रोगले ८ वटा पशु मरे ।
२०६६ सालमा पहिरो तथा हावाहुरीले पोखरीचौरीमा केहि विद्यालयहरुमा क्षति पुग्यो भने दुतिको पहिरोले बस्ती जोखिममा पु¥यायो । २०६८ मा बाढी र पहिरोबाट ११ जनाको निधन भयो । १४ जना घाईते भए । २ सय ५४ वटा घर र १४ सय ४४ परिवार र विद्यालय प्रभावित भए । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार तथ्यांक अनुसार २०६९ सालमा बाढी र पहिरोमा परेर २ जनाको मृत्यु भयो । २०७० सालमा ५ जनाको निधन भयो । २०७१/२०७२ मा १ जनाको निधन भयो ।
आगलागीमा परेर २०६७/२०६८ मा ४१ वटा घर जले । ७ वटा चौपाया मरे । २०६८/२०६९ मा २४ वटा घर जले । केहि मानिस घाईते भए । गोठहरु पनि जले । पशु चौपाया मरे । २०६९/२०७० मा १ जनाको आगलागीका कारण निधन भयो । २०७०/२०७१ मा २ जनाको निधन भयो । २०७१/२०७२ मा ४ जनाको निधन भयो । २०७१/२०७२ मा ४० वटा घर जल्यो । लगातार आगलागीका घटना भएका छन् । नागरिकहरुले ज्यान गुमाएका छन् । आगलागीमा परेर करोडौको धजनको क्षति भएको छ ।
चट्याङ्गमा परेर २०६९/२०६९ मा २ जनाको निधन भएको थियो । २०६९/२०७० मा ३ जनाको निधन भएको थियो । २०७०/२०७१ मा ११ जनाको निधन भएको थियो । २०७१/२०७२ मा २ जनाको निधन भएको थियो ।
भुकम्पमा परेर २०७२ सालमा ३ सय ४० जनाको निधन भएको थियो । ८ सय ६० जना सख्त घाईते भएका थिए भने ६७ हजार ७ सय ११ घरमा क्षति पुगेको थियो । सडक दुर्घटनामा परेर २०६८ देखि २०७५ सम्म १ सय ९० जनाको निधन भएको छ । २०७५ देखि २०८२ सम्म एक सय भन्दा धेरै ब्यक्तिको निधन भएको छ ।
कोभिडका कारण १ सय ९६ जनाले ज्यान गुमाए । १८ हजार २ सय ३१ जना संक्रमित भए । डेंगुबाट १० जनाले ज्यान गुमाएका छन् । २०८१/२०८२ मा बाढी र पहिरोबाट ७९ जनाको ज्यान गएको छ भने ६ जना बेपत्ता छन् । जिल्लामा पछिल्लो समय आत्महत्या विपत्तिका रुपमा रहेको छ ।





