संसद बिचौलियाको खेलमैदान बनेको छ : प्रचण्ड

by | असार ३०, २०८२

संसद बिचौलियाको खेलमैदान बनेको छ : प्रचण्ड

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला दलहरूको गठबन्धन सरकारले संसदलाई बिचौलियाको खेलमैदानमा परिणत गरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष दाहालले संसदप्रति देखिएको रवैयालाई ‘लज्जास्पद र खेदजनक’ भन्दै कडा आलोचना गरे ।

‘दुई ठूला दल मिल्दा जे गरे पनि हुन्छ भन्ने निरङ्कुश सोचले संसदको हुर्मत लिइँदैछ,’ प्रचण्डले भने, ‘सार्वभौम संसद बिचौलियाको खेलमैदान बनाइनु देश र जनताका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।’

उनले हालको सरकार ‘सुशासनको डरले बनेको’ भन्दै व्यंग्य गर्दै संख्याको दम्भमा कुशासनको पहाड ठड्याएको टिप्पणी गरे । ‘सरकार बिचौलियाको पक्षमा छ भन्ने कुरा अब सर्वसाधारणदेखि सत्ता गठबन्धनकै नेताको भाषामा आएको छ,’ दाहालले बताए ।

सांसद दाहालले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा आइपुग्दा चलखेल र हस्तक्षेपको सिकार बन्ने गरेको भन्दै तीव्र आपत्ति जनाए ।

‘संसदको गरिमा र प्रक्रियामाथि खेलबाड भइरहेको छ,’ उनले भने ‘सत्ता संरचना गम्भीररूपमा विचलित भएको संकेत यही हो ।’