भूमि मन्त्रीको स्पष्टीकरणः चरित्रहत्या गर्न खोजियो, संलग्नता देखिए जस्तोसुकै सजाय भोग्न तयार छु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेला परे जस्तोसुकै सजाय पनि भोग्न तयार भएको बताएका छन् ।

बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले कसैले नियोजित रुपमा चलाएका हल्लाको पछि लाग्दा सिंगो देशलाई नै असर पर्ने पनि बताए ।

आफूबारे प्रश्न उठेपछि जवाफ दिएका मन्त्री अधिकारीले यसलाई चरित्र हत्याको प्रयास भएको जिकिर गरेका छन् ।

केही मान्छेहरू आफ्नो अभिष्ट पूरा गर्नका लागि मालपोतका अधिकृतलाई फिर्ता गराउन आफूसमक्ष आएको पनि पत्रकार सम्मेलनको क्रममा बताए । उनले मालपोत अधिकृत सरुवा भएर गएपछि फेरि त्यहाँ जान्छु भनेर नभनेको पनि प्रष्ट पारे ।