बिपी राजमार्ग साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द
बिपी राजमार्गमा साँझ ५ बजेदेखि विहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिपी राजमार्गअन्तर्गत काभ्रेभन्ज्याङदेखि सिन्धुली जिल्लाको सीमा नेपालथोकसम्म एक महिनाका लागि राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढी पहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभन्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिनेछ ।
यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म करिब दस घण्टा १५ दिन तथा थप असार मसान्तसम्म सोही समयमा सडक सञ्चालनमा रोक लगाइएको थियो ।






