एमाले सचिवालय बैठकः वरिष्ठ उपाध्यक्ष हटाएर ११ जना मात्रै पदाधिकारी बनाउने प्रस्ताव
नेकपा एमालेमा पदाधिकारी संख्या घटाउने प्रस्ताव भएको छ। नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान अधिवेशनका लागि तयार भएको विधान मस्यौदा प्रस्तुत गर्दै पदाधिकारी संख्या घटाउने प्रस्ताव गरेका हुन्।
जसमा ११ जना मात्रै पदाधिकारी बनाउने उल्लेख गरिएको छ। नयाँ प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३ (एक वरिष्ठ उपाध्यक्षसहित), महासचिव १, उपमहासचिव १ र सचिव ५ हुनेछन्।
अहिले एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव रहेका छन्।
त्यस्तै पौडेलले केन्द्रीय कमिटीको संख्या १ सय ९९ बनाउने प्रस्ताव गरेका छन्। यसैबिच विधान संशोधन प्रस्ताव र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी दिनेलगायतका विषयमा नेताहरुले धारणा राख्नु समय लिएका कारण नेकपा (एमाले) को जारी सचिवालय अझै केही घण्टा लम्बिने भएको छ ।
बैठक लम्बिने भएपछि खाजा खानका लागि केही समय बाहिर निस्किएका नेताहरुले कम्तिमा दुई घण्टा बैठक लम्बिने बताए ।
पदाधिकारी संख्या संकुचित गर्दा कतिपय नेताको व्यवस्थापनमा जटिलता हुने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताले असहमति प्रकट गरेका छन् ।
विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेर हद र २ कार्यकालको व्यवस्था हटाइएको छ । यद्यपि, पूर्वव्यवस्था हटाउनुपर्ने आधार र तर्कको खोजी हुनुपर्ने कुरा उठेपछि छलफल लम्बिएको बैठकमा सहभागी एक नेताले बताए ।






