एमालेको पोलिटब्यूरो बैठक आज (शनिबार) पनि बस्दै
काठमाडौँ / नेकपा एमालेको पोलिटब्यूरो बैठक शनिबार पनि जारी रहने भएको छ। पार्टी कार्यालय च्यासलमा शुक्रबारदेखि जारी बैठक बिहान ११ बजेबाट शुुरु हुनेछ। शुक्रबार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले धारणा राखेका हुन्। आज अन्य सदस्यहरुले आ आफ्नो धारणा राख्नेछन् । बाँकी सदस्यहरुले बोल्ने क्रम सकिए शनिबार नै बैठक सम्पन्न हुने गौतमले बताए।
शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम र विधानका बारेमा बालेका थिए। अध्यक्ष ओलीले देशको राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउने कुरा गम्भीर भएकाले उचित समयमा निर्णय लिने बैठकलाई जानकारी गराएका थिए।






