बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल पुनःनिर्माण गर्न महाभारत गाउँपालिकाको माग

काभ्रे । महाभारत गाउँपालिकाले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण कार्य तत्काल अघि बढाउन सरकारसँग माग गरेको छ । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गृहमनत्री रमेश लेखकलाई भेटेर उक्त विषयमा ध्यानाकर्षण गराएका हुन् । गत असोज १०–१२ गतेसम्म परेको अविरल वर्षा तथा बाढी पहिरोका कारण महाभारत गाउँपालिकासम्म पुग्ने पुल, सडक लगायत सार्वजनिक र व्यक्तिगत संरचनामा ठूलो क्षति पुगेको छ । महाभारत गाउँपालिकालाई सरकारले संकटग्रस्त पालिका समेत घोषणा गरेको छ । यद्यपी बाढीपहिरो गएको एक वर्ष पुग्न लाग्दा समेत पनर्निर्माणले गति नलिएको भन्दै अध्यक्ष जिम्बाले जिल्लाकै विकट क्षेत्रमा पर्ने पालिकाका जनता निराश रहेको बताए । बाढी पहिरो पश्चात अवलोकनका लागि नेपाल सरकारका गृह मन्त्रालय लगायत विभिन्न मन्त्रालयका मन्त्री तथा कर्मचारीहरुको प्रभावित क्षेत्रको स्थलगत भ्रमणले बाढी पहिरो पश्चात पुनर्निर्माण हुनेमा पीडितहरु आशाबादी भएपनि घटनाको वर्ष दिन पुग्न लाग्दा समेत सोचेअनुरुप निजी आवास पुननिर्माण र क्षतिग्रस्त भौतिक संरचनाहरुको निर्माण हुन नसकेको उनको गुनासो छ । जवाफमा गृहमन्त्री लेखकले बाढीपहिरो प्रभावित क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् । राज्यको स्रोतसाधन अनुसार क्रमशः पनर्निर्माण कार्य गर्दै जाने उनको भनाई छ । अध्यक्ष जिम्बाले ४ बुँदामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

१. निजी घर पुनःनिर्माणको लागि नेपाल सरकारले बनाएको कार्यविधिमा स्थानीय सरकारबाट २० प्रतिशत साझेदारी हुने गरी पारित गरिएको कार्यविधि स्थानीय तहहरुको राजस्वको क्षमता नै मूल्याङ्कन नगरी साझेदारीको कार्यविधि तयार गरिएकोमा तत्काल कार्यविधि संशोधन गरी निजी आवास पुनःनिर्माणको लागि अनुरोध गर्दछु ।
२. संघीय र प्रदेश सरकारको नीति कार्यकम तथा बजेट पारित हुँदा समेत क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनःनिर्माणमा ठोस योजना समावेश नभएको कारण आवश्यक योजनाहरु समावेश गरीदिनुहुन अनुरोध गर्दछु ।
३. बाढीको कारणले गर्दा नमोबुद्ध रोशी र महाभारत जाने थानसिङबेशी पुल तथा प्रमुख सडक सिपाली बुढाखानी बनखु सडक तहसनहस भएकोले तत्काल पुनःनिर्माण गर्न अनुरोध गर्दछु ।
४. विपी राजमार्गको सोचे अनुरुपको गतिमा पुनःनिर्माण नभएको कारणले दिनदिनै सूचना गरी राजमार्ग बन्द गर्नुपर्ने अवस्था रहेकोले द्रुतगतिमा निर्माण अघि बढाउन अनुरोध गर्दछु ।