‘जन्म दिनलाई सत्कर्मसँग जोडौँ’ अभियान अन्तर्गत धुलिखेल १० मा एक हजार विरुवा रोपण
शारदाबतासे, धुलिखेल/जन्म दिनलाई सामाजिक उत्तरदायित्व र वातावरणीय सचेतनासँग जोड्ने उद्देश्यले सुरु गरिएको जन्म दिनलाई सत्कर्मसँग जोडौँ अभियान अन्तर्गत शनिबार धुलिखेल नगरपालिका वडा नं. १०, शारदा बतासेमा वृक्षारोपण आयोजना गरिएको छ । कार्यक्रममा एक हजारभन्दा बढी विरुवा रोपिएका छन् ।
कार्यक्रमको उद्घाटन नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले गरेका थिए । वृक्षारोपण पछि आयोजित कार्यक्रममा बोल्दै मुख्य सचिव अर्यालले यस्ता अभियानले सामाजिक रुपान्तरणमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे । वडा नं. १० का वडाध्यक्ष गोविन्द भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम वडा सचिव ईश्वर सापकोटाले संचालन गरेका थिए । मुख्य सचिव अर्यालले धुलिखेल नगरपालिका वडा नं. १० ले आयोजना गरेको उक्त कार्यक्रममा अभियानमा ऐक्यवद्धता जनाउँदै ‘शुभ जन्मोत्सव पार्क’ निर्माण कार्यको समेत औपचारिक घोषणा गरिएको छ ।
कार्यक्रममा विभिन्न तहका सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कलाकार तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थिथयो । कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, शसस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, धुलिखेल नगरपालिकाका प्रमुख मेयर अशोक ब्याञ्जु श्रेष्ठ, उपप्रमुख निराजन जंगम, सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक सुमन दाहाल, बन मन्त्रालय प्रदेश सचिव डा. केदार बराल, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख उमेशकुमार ढकाल लगायत थिए ।
नेपाल पत्रकार महासंघका निवर्तमान सचिव तथा अभियानका अवधारणाकार गोविन्दप्रसाद चौलागाईंले अभियानको बारेमा स्वागत मन्तव्य दिंदै हरेक जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्ने अभियानमा देशभर सघन सहयोग प्राप्त भइरहेको बताए । धुलिखेल वडा नं. १० का वडा सदस्य अशोक कुमार शाहको सोहि दिन परेको जन्मदिनको अवसरमा शुभ जन्मोत्सव पार्कमा वृक्षरोपण गरेका थिए । त्यस्तै, नुवाकोट जिल्ला संयोजक एलिजा लामिछानेले समेत आफ्नो जन्मदिनको अवसरमा वृक्ष रोप्दै अभियानप्रति ऐक्यवद्धता जनाईन् । दुवै व्यक्तित्वलाई प्रमुख अतिथि एकनारायण अर्यालले विरुवा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वल्डलिंक कम्पनीले धुलिखेलको उक्त स्थानमा निःशुल्क वाइफाइ जडान गर्ने प्रतिबद्धता जनाएको छ । आयोजक संस्थाले कम्पनी प्रति आभार व्यक्त गरेको छ । शुभ जन्मोत्सव पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार पारिएको वडा अध्यक्ष गोविन्द भण्डारीले बताए । कार्यक्रम समापनमा वडाध्यक्ष गोविन्द भण्डारीले डिपिआर प्रमुख अतिथि तथा बन मन्त्रालयका सचिवलाई हस्तान्तरण गरेका थिए । यस अघि उक्त पार्क हनुमान पार्कका नामबाट चिनिदै आएको थियो । कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुख, शिक्षक, अभिभावक, सामाजिक अभियन्ता, कलाकार श्वेता खड्का र रविन्द्र खड्का, वरिष्ठ गायक थानेश्वर गौतम लगायतको सहभागिता रहेको थियो ।
जन्मदिनलाई सत्कर्मसँग जोडौँ भन्ने अभियान पहिलोपटक रौतहट जिल्लाको चन्द्रपुर–९, सिन्दुरेघारी मर्दर चाँदीखोलाबाट सुरु गरिएको हो । सामाजिक सेवा र वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले सुरु गरिएको उक्त अभियानले छोटो समयमै देशव्यापी स्वरूप लिइरहेको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालको संयोजनमा सञ्चालित अभियानका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंको अगुवाइमा कार्यक्रमहरू निरन्तर भइरहेका छन् । अभियानको मुख्य उद्देश्य व्यक्तिगत खुसीलाई समाज सेवामा रुपान्तरण गर्दै दिगो विकासका लागि योगदान पु¥याउनु रहेको छ ।
समाजमा सकारात्मक परिवर्तन ल्याउन व्यक्तिगत स्तरबाट समेत योगदान दिन सकिने सन्देश दिन सफल भएको उत्तः कार्यक्रमले आगामी दिनमा पनि यस्ता सत्कर्मको विस्तार हुने अपेक्षा गरिएको अध्यक्ष भण्डारीले बताए । वृक्षारोपणले वातावरण संरक्षणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले अभियानले दीर्घकालीन महत्व राख्ने सहभागिहरुले बताए ।






