एमालेको विधान संशोधन प्रस्ताव पोलिटब्युरो बैठकबाट पारित

नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले जानकारी दिए । पोलिटब्युरो बैठकमा ६८ जना सदस्यले धारणा राखेको पनि गौतमले जानकारी दिए । बैठकमा पार्टी र नेतृत्वविरुद्ध फेसबुकमा लेख्नेलाइ कारबाही गर्न माग गरिएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी दोस्रो दिनको बैठकमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ‘पार्टी र नेतृत्वविरुद्ध फेसबुकमा जे पायो त्यही लेख्नेलाइ कारबाही गर्न’ माग गरेका हुन् । ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालयको निर्णय पुनर्विचार गर्न माग गरिरहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कर्ण थापाले सामाजिक सञ्जालमार्फत पनि आफ्नो फरक विचार प्रस्तुत गरिरहेका छन् । यसैबिच नेकपा एमाले नेता गोकुल बास्कोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा आगमनबारे पार्टीमा देखिएको विवादको समाधान छलफल गरेर टुंग्याउन सुझाव दिएका छन्। च्यासलमा जारी एमाले पोलिटब्युरो बैठकमा आफ्ना धारणा राख्दै उनले यसका लागि अध्यक्ष र पूर्वराष्ट्रपतिले आपसमा छलफल गरेर मिलाउनुपर्ने मत राखेका हुन्। उनले पार्टीमा यसरी आपसमा विवाद गर्दा कसले जित्छ भन्दै प्रश्न समेत गरेका थिए। उनले पार्टीको नयाँ पुस्तालाई पनि नेताहरूलाई मिलाउने क्षमता देखाउन आग्रह गरेका छन् । यस्तै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नैतिक नहुने धारणा रोखका छन्।