दुई दशक लामो कोमामा रहेका साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं / झण्डै दुई दशकदेखि अचेत अवस्थामा रहेका साउदी राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको ३६ वर्षको उमेरमा निधन भएको छ । ‘स्लिपिङ प्रिन्स’ (निद्रामग्न राजकुमार) का नामले चिनिएका उनको शनिबार निधन भएको हो ।

उनका पिता, राजकुमार खालिद बिन तलालले सामाजिक सञ्जालमार्फत छोराको निधनको पुष्टि गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । सन् २००५ मा लन्डनमा सैन्य कलेजमा अध्ययनरत रहँदा केवल १५ वर्षको उमेरमा राजकुमार अल वालिद एक भयानक कार दुर्घटनामा परेका थिए । दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लाग्नुका साथै रक्तस्राव भएको थियो, जसका कारण उनी कोमामा गएका थिए । त्यसयता उनी कहिल्यै पूर्ण होसमा आउन सकेनन् र रियादस्थित एक विशेष चिकित्सा सुविधामा निरन्तर भेन्टिलेटर र चिकित्सकको निगरानीमा थिए ।

विगत २० वर्षदेखि, राजकुमार अल वालिदको अवस्था विश्वभरिका लागि चासो र प्रार्थनाको विषय बनेको थियो । उनका पिता राजकुमार खालिद बिन तलालले छोराको जीवन रक्षा प्रणाली हटाउने चिकित्सकहरूको सल्लाहलाई सधैं अस्वीकार गर्दै आएका थिए । कुनै दिन दैवी चमत्कार हुने र छोरा होसमा फर्कने कुरामा उनी दृढ विश्वासी थिए । यो अविचलित पितृ वात्सल्य र आशाको कथाले धेरैको मन छोएको थियो ।

कोमामा रहँदा राजकुमारका शरीरमा कहिलेकाहीँ देखिने अनियन्त्रित गतिविधिहरूले परिवारमा आशाको किरण जगाउने गर्थ्यो । केही वर्षअघि उनले कसैले बोलाउँदा आफ्नो औंला उठाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यद्यपि, उनी पूर्ण रूपमा चेतनामा भने कहिल्यै फर्किएनन् ।

राजकुमार अल वालिद अर्बपति व्यवसायी राजकुमार अल वालिद बिन तलालका भतिजा थिए । उनको निधनको खबरसँगै विश्वभरबाट सामाजिक सञ्जालमा श्रद्धाञ्जलीको ओइरो लागेको छ । धेरैले उनको आत्माको शान्तिको कामना गर्दै परिवारको धैर्य र पिताको अगाध प्रेमको प्रशंसा गरेका छन् ।

आइतबार रियादको इमाम तुर्की बिन अब्दुल्लाह मस्जिदमा उनको अन्त्येष्टि प्रार्थना सम्पन्न गरिने जनाइएको छ ।