ओली–भण्डारीको छलफल सकियो

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीचको छलफल सकिएको छ।

उनीहरुबीच एमाले पार्टी केन्द्रीय कार्यालयमा झण्डै दुई घण्टा छलफल चलेको थियो।

छलफलका लागि पूर्वराष्ट्रपति भण्डारी करिब साढे ३ बजेतिर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेकी थिइन्। अध्यक्ष ओली भने करिब ४ बजेतिर कार्यालय आएपछि उनीहरूबीचको एक्लाएक्लै छलफल सुरु भएको थियो।

छलफल सकिएपछि भण्डारी च्यासलबाट बाहिरिसकेकी छिन् भने अध्यक्ष ओली भने कार्यालयमै छन्।

दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।

बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए। ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने ‘म्यान्डेट’ अनुसार ओलीले भण्डारीसँग छलफल थालेका हुन्।