ज्ञानकुञ्जमा नयाँ विद्यार्थीलाई अभिमुखिकरण
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक लगायतको सहभागिता रहेको थियो । अध्यक्ष सुरकृष्ण वैद्यले शिक्षा प्रणालीलाई केवल परीक्षा र प्रमाणपत्रको सीमामा नराखी सृजनशीलता, नेतृत्व क्षमता र जीवनपयोगी सीप विकास गर्ने गरी शैक्षिक वातावरण तयार गरिएको बताए ।
संस्थाका प्रबन्ध निर्देशक प्रताप वैद्यले विद्यार्थीहरुलाई स्वागत मन्तव्य दिदै ज्ञानकुञ्जको शिक्षण परम्परा, अनुशासन र भविष्य निर्माणमा केन्द्रित शैक्षिक दृष्टिकोणबारे जानकारी गराए । विद्यार्थीहरुलाई आफ्नो क्षमताको अधिकतम प्रयोग गर्दे सशक्त, नैतिक र जिम्मेवार नागरिक बन्न बैद्यले प्रेरित गरे । सहायक क्याम्पस प्रमुख नबराज चौलागाईले व्यवसायिक र व्यावहारिक शिक्षाको महत्वमा जोड़ दिंदै, विद्यार्थीहरुलाई आजको प्रतिस्पर्धी युगमा आत्मनिर्भर र सक्षम बन्न आवश्यक मार्गनिर्देशन गरिने बताए ।
सहायक प्रिन्सिपल नमराज दाहालले नैतिक शिक्षाको अपरिहार्यता औंल्याउँदे आजको शिक्षा प्रणालीमा मूल्य–मान्यताको खड़ेरी रहेको बताए । कार्यक्रममा हास्य कलाकार तथा जादूगर राजेन्द्र गिरीको प्रस्तुति रहेको थियो । कार्यक्रममा विभिन्न सांगीतिक र सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको थियो । कार्यक्रम मार्फत नव आगन्तुक विद्यार्थीहरूमा अध्ययनप्रति जागरुकता र संस्था प्रतिको भरोसा थप बलियो भएको विश्वास प्रतिष्ठानले लिएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आगामी दिनहरूमा पनि यस्ता प्रभावकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दे जाने प्रतिबद्धता जनाएको छ ।






