काभ्रेमा प्रदेश सरकारकाको १ अर्ब १६ करोड फ्रिज, ६० करोड आम्दानी
धुलिखेल/बागमती प्रदेश सरकारले जिल्लामा विनियोजन गरेका विभिन्न योजनाहरुमा खर्च हुन नसकेको रकम २२ प्रतिशत फ्रिज भएको छ । चालु र पुँजिगत तर्फ जिल्लाका लागि विनियोजन भएको रकम मध्ये ७८.२५ प्रतिशत रकम मात्रै खर्च भएको प्रदेश लेखा इकाई कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । प्रदेश सरकारको कोषमा जिल्लाबाट ६० करोड ४६ लाख ९७ हजार १ सय १३ रुपैया जम्मा भएको छ । यातायात ब्यवस्था कार्यालयको राजश्व मुख्य श्रोत हो । मालपोत कार्यालयले बाँडफाँड गर्ने रकम यो कोषमा जम्मा हुँदैन । करिव ६० करोडको हाराहारीमा मालपोत कार्यालयले प्रदेश सरकारलाई रकम पठाएको छ ।
जिल्लाका लागि ५ अर्ब ३३ करोड ४४ लाख ९२ हजार १ सय ६० रुपैया कुल बजेट विनियोजन भएको थियो । जसअन्र्तगत ४ अर्ब १७ करोड ४२ लाख ३९ हजार ४ सय १८ रुपैया खर्च भएको छ । १ अर्ब १६ करोड २ लाख ५२ हजार ७ सय ४१ रुपैया बजेट खर्च हुन नसकी फिर्ता भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख जगन्नाथ घिमिरेले बताए ।
चालु तर्फ २ अर्ब ६ करोड ७५ लाख ४० हजार १ सय ६० रुपैया र पुँजीगत तर्फ ३ अर्ब २६ करोड ६९ लाख ५२ हजार रुपैया बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष २०८१/२०८२ मा विनियोजन भएको बजेट भन्दा २०८२/२०८३ का लागि केहि प्रतिशतले बढेको छ । चालु तर्फ २ अर्ब १२ करोड २८ लाख ७९ हजार रुपैया विनियोजन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु तर्फको बजेट भने केहि प्रतिशतले धेरै हो । त्यस्तै पुँजिगत तर्फ ३ अर्ब ४२ करोड ६२ लाख ९८ हजार रुपैया विनियोजन भएको छ ।
आर्थिक वर्ष २०८१/२०८२ का लागि विनियोजन भएको चालु तर्फको १ अर्ब ६३ करोड ६३ लाख ८५ हजार २ सय ६४ रुपैया मात्रै खर्च भएको छ । प्रतिशतका हिसावले विनियोजन गरिएको बजेटको कुल खर्च ७९.१५ प्रतिशत हो । पुजिगत तर्फ २ अर्ब ५३ करोड ७८ लाख ५४ हजार १ सय ५३ रुपैया खर्च भएको छ । प्रतिशतका हिसावले ७७.७८ प्रतिशत हो ।






