पार्टी फुटाउन सक्ने तत्त्वहरूबाट जोगिएर अघि बढौँ : ओली
काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्नसक्ने तत्त्वहरूबाट जोगिएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले पार्टी बाहिर र भित्र विभिन्न तत्त्वहरू विभाजित गर्ने गरी लागेको भन्दै नेताहरूलाई सो आग्रह गरेका हुन् ।
बैठकमा ओलीले पार्टीलाई वैचारिक हिसाबले गन्तव्य स्पष्ट गरेर अघि बढाउने गरी लाग्नुपर्ने बताउँदै पार्टीका बाहिर र भित्री तत्त्वलाई चलाएर विभाजित गर्ने तत्त्वहरू आए । त्यसलाई जोगाएर अघि बढ्नुपर्ने बताए । साथै, उनले अहिले पार्टी रूपान्तरणको बेला भएको र सानातिना अन्तर्विरोधमा नफस्न पनि आग्रह गरे ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ओलीले पार्टी रूपान्तरणको निम्ति, जनताको निम्ति बनेकाले सानातिना अन्तर्विरोधमा नफस्न केन्द्रीय कमिटीका नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।
बैठकमा ओलीले पार्टी भित्र कुनै मतभेद नरहेको पनि बताए । केन्द्रीय कमिटीका सदस्यहरूलाई ओलीले विधान संशोधनसम्बन्धी मुद्दामा पनि आ–आफ्ना धारणा राख्न भनेका छन् ।






