प्रेम सम्बन्धको त्रासदीः प्रेमिकाको हत्या अभियोगमा प्रेमी पक्राउ
धुलिखेल/बनेपा स्थित भगवान थुम्की सामुदायिक जंगलमा एक महिलाको रहस्यमय हत्या प्रकरणमा प्रहरीले मृतककै प्रेमीलाई पक्राउ गरेको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका व्यक्तिबाट नै युवतीको निर्मम हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेका अनुसार महिला र पक्राउ परेका युवा २ वर्ष देखि सम्वन्धमा रहेका थिए । दुई वर्षको सम्वन्ध विवाहमा परिणत गर्न नमानी अर्काे पुरुषसँग प्रेम गरेको थाहा पाए पछि जंगलमा पु¥याएर हत्या गरिदिएको पक्राउ परेका प्रेमी सन्तोष सुनारले प्रारम्भिक अनुसन्धानका क्रममा बयान दिएका छन् । २०८२ साउन ४ गते दिउँसो करिब २ बजे बनेपा नगरपालिका १३ को भिरालो जंगलमा चिलाउने रुखको फेदमा पहिचान नखुलेकी एक महिला मृत अवस्थामा फेला परेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटिएको थियो । धुलिखेल अस्पतालको फरेन्सिक विशेषज्ञ टोली समेत घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो ।
प्रहरी अनुसन्धानका क्रममा उक्त शव काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका १ डाँडाखर्क घर भई हाल बनेपा नगरपालिका ९ नयाँबस्तीमा बस्दै आएकी ३३ वर्षीया शर्मिला उप्रेतीको भएको खुलेको थियो । शव पहिचान बाबु कमलबहादुर उप्रेतीले गरेका हुन् । परिवारका अनुसार शर्मिला असार ३२ गते देखि बेपत्ता थिइन् । बेपत्ता भएको दुई दिनपछि जंगलमा शव भेटिए पछि घटनालाई रहस्यमय मान्दै प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न भएको आरोपमा शर्मिलाका प्रेमी ३७ वर्षीय सन्तोष सुनारलाई साउन ४ गते राति बनेपा नगरपालिका १० स्थित एक इँट्टाभट्टा नजिक लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । सन्तोष रामेछाप जिल्ला मन्थली नगरपालिका १३ का स्थायी बासिन्दा हुन् ।
प्रहरीका अनुसार शर्मिला र सन्तोषबीच विगत २ वर्ष देखि प्रेम सम्बन्ध थियो । तर पछिल्लो समय उनीहरूको सम्बन्धमा समस्या देखिन थालेको र त्यसैका कारण हत्या भएको हुनसक्ने प्रारम्भिक अनसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलको अवस्था, शवको अवस्थिति र मोबाइल संवाद लगायतका प्रमाणहरूका आधारमा प्रहरीले हत्या योजनाबद्ध ढंगले गरिएको हुनसक्ने आशंका गरेको छ । पक्राउ परेका सन्तोषलाई प्रहरीले अनुसन्धानका लागि चार दिनको म्याद लिएको छ । शर्मिला उप्रेतीको हत्या घटनाले सम्बन्धमा आधारित विश्वास, समर्पण र सम्मानको अभावले निम्त्याउने हिंसात्मक परिणामको उदाहरण प्रस्तुत गरेको छ । प्रेम सम्बन्ध जस्तो निजी विषयले सार्वजनिक रूपमा ज्यानको मूल्य तिर्नुपर्ने अवस्था आउनु गम्भीर सामाजिक चुनौती हो । केहि महिना अघि बनेपामा एक युवकले युवतीलाई होटलमा बोलाएर आफुसँग प्रेममा धोका दिन लागेको भन्दै हत्या गरेका थिए । उनिहरु दुबै मजदुरी गर्दै आएका थिए ।






