मैले वि.पि.का थुप्रै पुस्तकहरु पढेको छु: उनी राजनीतिमा समाजबादी र साहित्यमा अराजकताबादी देखिन्छन्

by | साउन ६, २०८२

मैले वि.पि.का थुप्रै पुस्तकहरु पढेको छु: उनी राजनीतिमा समाजबादी र साहित्यमा अराजकताबादी देखिन्छन्

होम प्रसाद चौंलागाँईं

विश्वेश्वरप्रसाद अर्थात बि.पि.कोइरालाको जन्म बि.सं. १९७१ भाद्र २४ गते तदनुसार इ.सं. १९१४ सेप्टेम्बर ८ तारिखमा भएको थियो । उनको शिक्षा दिक्षा बनारमानै भएको थियो । वि.पि.ले सन् १९३४ मा वनारस बिश्व बिद्यालयबाट अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातक पूरा गरेपछि सन् १९३७ मा कलकत्ता विश्व बिद्यालयबाट कानूनमा स्नातक अध्ययन समेत पूरा गर्नुका साथै करीव १० बर्ष दार्जलिगमा कानून व्यवसाय समेत गरेका थिए ।

बि.पि. व्यक्ति एक भएपनि उनका व्यक्तित्व अनेक छन् । उनलाई प्रजातन्त्रबादी शीर्ष राजनेता, समाजबादी चिन्तक, राजनीतिक अर्थशास्त्री र मनोबिश्लेषणात्मक साहित्यकारको व्यक्तित्वका रुपमा अध्ययन गर्न सकिन्छ । बि.पि.लाई एउटा पाटोमात्र बुझ्न खोजेर हुन्न । उनको हरेक व्यक्तित्वलाई बुझ्न जरुरी छ । तसर्थ बि.पि. को व्यक्तित्वलाई एउटा सफल राजनीतिज्ञ मात्र नभएर समाजवादी, अर्थव्यवस्था सहितको आर्थिक विकासवादी सहित आद्युनिक साहित्यकारको रुपमा लिन सकिन्छ ।
बि.पि.को राजनीतिक जीवन विद्यार्थी कालमा १९३० ९वि.सं.१९८७० को बेलायती सरकारको गिरफ्तारी देखिनै शुरुभएको हो । उनी सन् १९३४ देखि भारतीय राष्ट्रिय काग्रेसमा संलग्न भएका र सोही समयदेखिनै भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक भएका थिए । उनी द्धितीय बिश्वयुद्धको समयमा सन् १९४२–१९४४ मा दुई बर्ष ब्रिटिश इण्डीयाद्वारा धनवादमा थुनामा पनि बस्नु परेको इतिहास छ ।

भारतमा स्वतन्त्रता आन्दोलन चलिरहेको समयमा नेपालमा पनि जहानीया राणा शासन बिरोधी आन्दोलनहरु चल्दै गरेका थिए । यसै समयमा भारतमा काग्रेशको दुईवटा भिन्दा भिन्दै राजनीतिक दल खुलेका थिए । एउटा मातृका प्रसाद कोइरालाको अध्यक्षतामा नेपाल राष्ट्रिय कांग्रेस र अर्को सुबर्ण शम्शेरको अध्यक्षतामा नेपाली प्रजातन्त्र कांग्रेस । यी दुवैको अभिष्ट एउटै थियो । त्यसर्थ बि.पि.कोइरालाले यी दुवैलाई एकै ठाउमा ल्याउन सक्रियता देखाए । फस्वरुप उनको पहल र सक्रियतामा यी दुवै कांग्रेसलाई मिलाएर वि।सं।२००६ साल चैत्र २८ गते नेपाली काँग्रेस पार्टीको स्थापना गराउन बि. पि. कोइराला सफल भए । सो पार्टीको अध्यक्ष मातृका प्रसाद कोइराला भएका थिए ।

नेपालमा राणा बिरोधी आन्दोलन चलिरहेकै सिलसिलामा वि.सं. २००४ ९सन् १९४७ मा विराटनगरमा मजदुर आन्दोलन भयो । सो आन्दोलनमा सघाउन बि.पि. नेपाल आएका थिए । सोही समयमा भाई गिरिजा र अन्य नेताहरु सहित वि।पि।पक्राउ परे । राणा सरकारद्वारा बि.पि. कोइराला लगायत पक्राउ परेका सवै व्यक्तिहरुलाई २१ दिन पैदल हिडाएर पहाडिबाटो हुँदै काठमाडौ ल्याईयो र जेलमा राखियो । वि।पि।ले जेलमा २७ दिनसम्म लामो भोक हडताल गरे । सो भोक हडताल र महात्मा गान्धीको अनुरोधमा उनलाई जेलबाट मुक्त गरियो । जेल मुक्त भएपछि उनी आफ्नो नियमिमत राजनीतिक गतिबिधिमा संलग्न भए ।
२००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र आयो । राणा शासनको अन्त्य भएपछि १० फागुन,२००७ मा राणा—काग्रेस संयुक्त सरकार गठन भयो । उक्त राणा–कांग्रेस संयुक्त सरकारमो बि.पि. कोइराला गृहमन्त्री भए । बि.पि.ले सो संयुक्त सरकारमा रहेर १० फागुन, २००७ देखि २६ कार्तिक, २००८ सम्म ९ महिना गृृहमन्त्रीका रुपमा काम गरे । त्यसपछि राणा कांग्रेसको सरकार भंग भयो । राणा कांग्रेसको संयुक्त सरकार भंग भएपछि बि.पि.पार्टी संगठनमा लागे । उनी नेपाली कांग्रेसको दोश्रो सभापति पनि भए र उनी सभापतिको रुपमा १३ जेष्ठ, २००९ देखि १० माघ, २०१२ सम्म कार्यरत रहे ।

नेपालमा वि.सं. २०१५ मा भएको संसदीय चुनावमा बि.पि.को नेतृत्वमा नेपाली कांग्रेसले कुल १०९ सीटको संसदमा ७१ सिट अर्थात दुई तिहाई सिटमा विजय प्राप्त ग¥यो । वि.पि. कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बन्यो । बि.पि. कोइराला नेपालका प्रथम जननिर्वाचित एवं २२ सौं प्रधानमन्त्री बने । वि.पि. कोइरालाको नेतृत्वको नेपाली कांग्रेसको सरकार १३ जेष्ठ, २०१६ देखि १ पौष, २०१७ ९ सन् २७ मे, १९५९ देखि १५ डिसेम्बर, १९६०० सम्म राजा महेन्द्रले बिशेष अधिकार प्रयोग गरी संबिधान र सरकार भंग नगर्दा सम्म १८ महिना कायम रह्यो ।

सरकारबाट अपदस्थ भए पश्चात वि.पि. कोइरालालाई कैद गरियो । करीब ८ बर्षको जेल जीवन व्यतित गरेपछि बि.सं. २०२५ मा उनलाई जेलमुक्त गरी निर्वासनमा जान दिइयो । बि.पि.ले आफ्नो निर्बासित जीवन भारतमा व्यतित गरे । उनले निर्वासित समयमा पनि देश र प्रजातन्त्रका लागि अनवरत संघर्ष गरिरहे । वि.पि.को बिश्लेषणमा तत्कालीन अन्तराष्ट्रिय राजनीतिक परिवेश बिस्तारबाद उन्मुख भएकोले सो परिवेश मुलुकको हित प्रतिकूल रहेको र राष्ट्र र राष्ट्रियता माथि खतरा महसुस गरेर बि.सं २०३३ पौषमा राष्ट्रिय मेलमिलापको नीति उनी नेपाल फर्के । तर तत्कालिन नेपाल सरकारले देशद्रोहको आरोप लगाएर पक्राउ गरी नजरबन्द ग¥यो । वि.पि. घाँटीको क्यान्सर उपचारको लागि बिदेश समेत गए । तर निको भएन । सोही रोगका कारण बि. सं २०३८ श्राबण ६ मा उनी सदाकालागि बिदा भए ।

बि.पि.प्रखर वक्ता, साहसिक व्यक्तित्व, राजनीतिका अथक र अबिचलित साधक, प्रजातन्त्र प्रेमी र समाजबादका प्रणेता थिए । उनमा बैचारिक स्पष्टता, छविमा स्वच्छता र व्यवहारमा इमान्दारिताका साथै उनीसंग राष्ट्रलाई नयाँ स्वरुप दिने दूरदृष्टि थियो । बि.पि.को समाजबादी चिन्तन झन अध्यनयोग्य छ । भारतमा गान्धीे औद्योगीकरण, शहरीकरण, प्रबिधि आबश्यकता पूर्तिको लागि आवश्यक छैन । उनी ग्रामीण स्वराज र आत्मनिर्भर गाँउ स्थायी आवश्यकता हो भन्ठान्थे । तान्जनीयाका राष्ट्रपति जुलिये नेरेरे वैदेशिक सहायताले अफ्रिकन मूल्यलाई नास गर्ने र परनिर्भरता गराउँछ भन्ने मान्यताले वैदेशिक सहयोग अस्वीकार गर्थे । अर्कोतर्फ चीनमा माउत्से तुङले पश्चिमी पूँजीबाद अस्वीकार गर्दै चिनीया मूल्य अनुसार माओबादी राजनीतिक अर्थतन्त्रको निर्माण गरेको समसामयिक अवस्थाले गर्दा एकातिर उदार पूँजीबादी र हर्कोतर्फ कम्युनिष्ट दुई बिचारधारा बीच शीतयुद्धको अवस्था थियो । त्यतिबेला अर्कोतर्फ अफ्रो एशियाली मुलुकहरुले असंलग्न आन्दोलनलाई जन्म समेत ।

वि.पि.को सक्रियता उनकै अध्यक्षतामा सन् १९५० मा एशियन सोसलिष्ट एशोसिएसन स्थापना भयो । तत्पश्चात सोसलिष्ट एशियाका समाजबादी राजनीतिक पार्टीहरुले सन् १९५३ मा बर्माको यांगुन अर्थात तत्कालिन रंगुनमा पहिलो एशियन सोसालिष्ट सम्मेलन गरे । उक्त सम्मेलनले एशियन बिशेषताको समाजबाद प्रस्ताव ग¥यो । नेपाली कांग्रेस पार्टीलाई वि.पि. ले समाजवादी धारामा स्थापित गरे । उनले नेपाल जस्तो गरीव मुलुकमा बैयक्तिक स्वतन्त्रता, नागरिक तथा राजनीतिक अधिकारहरुका लागि प्रजातान्त्रिक समाजबाद नै उपयुक्त हुन सक्छ भन्ने बिश्वास राख्थे । सोसलिष्ट इण्टरनेशनलको अध्यक्ष भएका कारण बि।पि।कोइरालकाको विश्वका समाजबादी नेताहरुसंग सम्पर्क थियो । सम्पर्कमा भएका नेताहरुमा बिलि ब्राण्ट –जर्मन चान्सलर, भारतीय नेताहरु मोहनदास करमचन्द गान्धी, जवाहरलाल नेहरु, राममनोहर लोहिया तथा चीनका नेता माओत्से तुङ आदि थिए ।

समाजबाद बारे वि.पि. ले भनेकाछन्–‘व्यवहारिक समाजबाद भोको मानिसको लागि एकमुठी चिउरा हो’ । सैद्धान्तिक रुपमा भन्दा साम्यबादमा प्रजातन्त्र थपिदियो भने समाजबाद हुन्छ । समाजबाट प्रजातन्त्र झिकीदियो भने साम्यबाद रहन्छ । बि.पि.का बिचारमा समाजबादको लक्ष्य समानता हो । जनतालाई समाजवादले मात्र राजनीतिक स्वतन्त्रता र समान आर्थिक अवसर दिन सक्छ ।

वि.पि.को प्रजातान्त्रिक समाजबाद भन्नुनै राजनीतिक स्वतन्त्रता र आर्थिक समानताको योग वा समष्टि हो । उनका अनुसार समाजबादनै भविष्यको आयाम हो । बि.पि.कम्युनिष्टहरुको राय विपरित मान्छे रोटीले मात्र बाँच्दैन र पूँजीवादीको राय विपरित अनियन्त्रित उपभोक्ताबाद अनैतिक हुन्छ भन्ने मान्यता राख्थे ।
उनको अर्थतन्त्र र आर्थिक विकास सम्बन्धी चिन्तन रोचक छ । वि.पि.को अर्थतन्त्र र आर्थिक दृष्टिकोण स्पष्ट थियो । वि.पि.को दृष्टिकोणमा आर्थिक प्रजातन्त्रको लागि राजनीतिक प्रजातन्त्र आवश्यक छ । अर्थतन्त्र र आर्थिक विकासको सन्दर्भमा थुप्रै कुराहरु बताएको देख्न सकिन्छ । पूर्णरुपले विकसित प्रजातान्त्रिक समाज र समाजबादको सिद्धान्त, अर्थतन्त्रको आर्थिक रुपान्तरणको ढाँचा आफ्नै स्थानीय आधार हुनु पर्छ भन्ने अवधारणा, समानतामा आधारित सहभागितात्मक उत्पादन प्रक्रियामा राज्यको अभिभावकीय भूमिका, राज्यले नागरिकलाई उनीहरुको क्षमताले सकेसम्मको परिश्रम गरी उत्पादन गर्न प्रेरित गर्नु पर्छ भन्ने कुरा आदि । वि.पि.को अर्थतन्त्र र आर्थिक चिन्तनमा समेटिएका मूलभूत बिषयहरुलाई औद्योगीकरण, भूमिसुधार, कर, बैदेशिक सहयोग, प्रबिधि र विकास, बिकेन्द्रीकरण र उत्पादनको गतिशीलता कुराहरुलाई प्रमुख रुपमा सिलन सकिन्छ ।

साहित्य प्रवेशको हिसाबले नेपालमा काठमाडौबाट बि.सं १९९१ सालदेखि शारदा पत्रिका प्रकाशित हुन थालेको इतिहास छ । सो पत्रिका नै नेपाली आधुनिक कथा साहित्यको पहिलो चौतारो मानिएको छ । त्यबिेलाका समीक्षकहरुका अनुसार–सो समयदेखि नेपाल भित्र र बाहिर प्रकाशित विभिन्न पत्रिकाहरुमा नेपाली आधुनिक कथाको मौलिक स्वरुप देखिन थालेको हो । उक्त समयलाई शारदा काल भनेर बुझिन्छ । शारदा कालमा कथा लेख्ने आधुनिक कथाकारहरुमा गुरुप्रसाद मैनाली, पुष्कर शम्शेर, बालकृष्ण सम र बिश्वेश्वर प्रसाद कोईराला थिए ।

बि.पि.मनोवैज्ञानिक कथाकारपनि हुन । बि.पि.कोइरालाकोे प्रथम नेपाली कथा चन्द्रबदन थियो । उनको चन्द्रबदन कथो शारदा पत्रिकामा वि.सं.१९९१ मा प्रकाशित भएको थियो । यो कथा यौन मनोमनाबिश्लेषण गरिएको आधुनिक कथा हो । बि.पि.का कथाहरुमा यौनजन्य अतृप्ति र मानसिक समस्या जनित नारी मनका यौन समस्याको सूक्ष्मतम मनोबिश्लेषण गरिएका हुन्छन् ।

उनका अन्य कथाहरुमा कर्नेलको घोडा, पबित्रा र शत्रु आदि हुन् । यी कथाहरुमा पनि कथाकारले नारी भित्र रहेका यौन कुण्ठा र अतृप्त यौन चाहना जनित मनोदशालाई उजागर गरेका छन् । त्यस्तै मधेशतिर कथा नेपाली पृष्ठभूमिमा अधिकांश नेपालीको आर्थिक जीवन र बालबैधव्यजनित यौन अतृप्ति यी दुवै समस्याको गोरे र बिधवा पात्रको माध्यमबाट व्यक्तगर्न सफल भएका छन् । उनको उल्लिखित कथाहरु निकै सफल र बहुचर्चित कथा हुन् । उनको कथा शैली सरल र छरिता छन् ।
वि.पि.ले आफूलाई वि.सं. १९९५ मा नै एउटा सशक्त र सफल आधुनिक कथाकारको रुपमा स्थापित गरिसकेका देखिन्छन् । त्यतिवेला उनको उमेर चौवीस बर्षमात्र भएको थियो । बि.पि. का दुईवटा कथा संग्रहहरु प्रकाशित भएका छन् । ती मध्ये दोषी चश्मा, वि. सं. २००६ र श्वेत भैरवी वि. स. २०४० हुन् । नेपाली साहित्यमा फ्रायडीय मनोविज्ञानको प्रयोग गरेर मानव मनको सूक्ष्मतम बिश्लेषण गरेर कथा लेख्ने कथा शिल्पी हुन कोइराला । कथाकार बि.पि. साहित्यकार लरेन्स र चेखभबाट प्रभावित थिए भन्ने गरिन्छ । वि.पि.ले कथाका अतिरिक्त जीवनी तथा थुप्रै उपन्यासहरु पनि लेखेका छन् । उनका उपन्यासहरु तीन घुम्ती ई.सं १९६८०, सुम्निमा ई.स १९६९०, नरेन्द्रदाई ई.सं १९६९०, मोदिआइन ई. सं. १९८००, हिटलर र यहुदी ९२०४२०, बाबु आमा र छोरा ९२०४६० आदि रहेका छन् । साथै उनको जीवनीमा जेल जर्नल र आफ्नो कथा (अपुरो) हुन् ।

बि.पि. कथा जस्तै नेपाली उपन्यास साहित्यमा पनि उत्तिकै सशक्त र सफल छन् । उनी उपन्यासहरु पनि मनोबिज्ञानको प्रयोग गरेका छन् । जस्तै तीन घुम्तीमा इन्द्रमाया, सुम्निमा पुलोमा र सोमदत्त, नरेन्द्रदाईमा नरेन्द्र, गौरी र मुनरियाको यौन मनोभाव सूक्ष्म तरिकाले केलाएका छन् । बि.पि.को उपन्यासमा नारीपात्रका अचेतन तथा चेतन मनको बिश्लेषण गरिएको हुन्छ । वि.पि. का बारेमा विभिन्न विद्धानहरुको विभिन्न भनाई रहेको पाइन्छ । यसरी हेर्दा उनले राजनीति र नेपाली साहित्यको क्षेत्रमा एकसाथ पु¥याएको योगदानको जतिसुकै चर्चा गरेपनि पुग्दैन । यस हिसाबले सारमा एउटै वाक्यमा भन्नु पर्दा वि.पि. राजनीतिमा समाजबादी र साहित्यमा अराजकताबादी हुन् ।